काठमाडौ । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत मंगलबार राती तुलसीपुरमा चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापाका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलवार राती युवाहरूको समूहले खड्कामाथि चक्कु प्रहार गरेको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज हुँदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो ।
चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
