तुलसीपुर । घोराही २ स्थित जनता माध्यमिक विद्यालय तहमा विज्ञान विषयको राहत शिक्षक कोटामा आफू निकटका व्यक्तिको नाम निकालिएको खुलेको छ ।
जनता मावि, रामपुर वुकाको विज्ञान विषयको राहत कोटाको शिक्षकमा मिलेमतो गरेर आफु निकटका व्यक्तिको नाम निकालिएको हो ।
घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको माइला छोरा सरोज पाण्डेलाई जनता माविको विज्ञान शिक्षकको राहत कोटामा नाम निकालिएको पाइएको हो ।
जबकी शिक्षक नियुक्ति बब्लु शर्मा र मोहन थापा विज्ञको रुपमा थिए । उनीहरुलाई वडाअध्यक्ष, विव्यस र प्रधानाध्यापकको मिलेमतोमा विज्ञ नियुक्त गरिएको थियो ।
नेकपा एमाले निकट श्रीराम घर्ती जनता मावि वुकाको विव्यास अध्यक्ष छन् भने घोराही २ रामपुरका वडाध्यक्ष चित्रबहादुर चौधरी एमालेबाट निर्वाचित भएका हुन् ।
उनै घर्ती, वडाध्यक्ष चौधरी र प्रअको मिलेमतोमा घोराही १ का वडा अध्यक्ष पाण्डेको माइला छोरा सरोजलाई जनता माविको विज्ञान शिक्षकको राहत कोटामा नियुक्ति दिइएको हो ।
जबकी विज्ञले वस्तुगत प्रश्नपत्र बनाउने गर्छन् भने विषयगत प्रश्नपत्र घोराही उपमहानगरका प्रमुख कार्यकारी अधिकृत ऋषिराम केसीको हातमा हुन्छ ।
यसअघि मावि विद्यालय खैरामा पनि घोराही उपमहानगरका प्रवक्ता तथा सामाजिक शिक्षा समितिका संयोजक समेत रहेका राममणिकै छोरा सरोजको नाम संघीय अनुदानमा निकालिएको थियो ।
यसैगरी राममणिकै माइली बुहारीको प्रावि राहत कोटामा घोराही-१ कर्मकोट विद्यालयमा नाम निकालिएको छ । उनको भान्जी नाता पर्ने प्रावि सुकाखोलामा पनि राहतमा नाम निकालिएको स्रोतले जनाएको छ ।
त्यस्तै केही समय पहिले घोराहीका मेयर नरुलाल चौधरीले पनि आफ्नै भान्जी नाता पर्नेलाई प्रावि भैसाहीमा प्रावि राहतमा नाम निकालिएको खुलेको छ ।
