काठमाडौं । गत २० जेठमा सुनसरीको धरान-१९ मा वडाका युवाहरूको साकेला नाच हेर्न गएको बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका १८ वर्षीय तान्सुहाङ लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ ।
कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बता ।
डिएसपी भण्डारीले भने’ ‘घटनाको कारण र प्रमाण नजुटेकाले हालसम्म दोषी को हो भन्ने कुराको पुष्टि भएको छैन ।’
डिएसपी भण्डारीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा धरान-१९ का सुजन (गोपाल) विश्वकर्मा, दमक-२ का भुवन श्रेष्ठ, धरान-८ का समीर तामाङ, धरान-१६ का पुकार राई र धरान-१ का मनिष लिम्बु छन् ।
प्रहरीले उक्त घटना पुरानो रिसिइबीको कारण भएको हुनसक्ने बताएको छ । प्रहरीका अनुसार गत जेठ १६ गते घटनामा संलग्न आशङ्का गरिएका युवाहरू र तान्सुहाङ बिच सामान्य कुरामा झगडा भएको थियो ।
सोही झगडाको निहुँमा जेठ २० गते राति एक्लै देखेपछि तान्सुहाङलाई निर्घात कुटपिट गरी पक्राउ परेका युवाहरू फरार भएका थिए । गम्भीर घाइते भएका तान्सुहाङलाई उपचारको लागि वीपी प्रतिष्ठानमा लगिएको थियो ।
प्रतिष्ठानले न्युरो अस्पताल विराटनगरमा रेफर गरेपछि उनलाई तत्कालै उपचारको लागि न्युरो लगियो । टाउको छाती लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेका तानसुहाङको उपचारकै क्रममा गत जेठ २३ गते मृत्यु भएको डिएसपी भण्डारीले बताए ।
