काठमाडौ । कास्की प्रहरीले एक करोडभन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
चोरीमा संलग्नको आरोपमा पोखरा महानगरपालिका- २२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका- ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर पक्राउ परेका हुन् ।
उनीहरुले गत जेठ ११ गते पोखरा महानगरपालिका- १७ घारिपाटनमा बस्दै आएका लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको घरको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए ।
त्यस्तै नगद ३ लाख ८० हजार समेत चोरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले नगदसहित गरेर १ करोडभन्दा बढीका सरसामान चोरी गरेका थिए ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २४ तोलाका सुनका गहना, २२ वटा मोबाइल, ९ वटा क्यामेरा, १५ वटा ल्यापटप, ११ वटा घडी, दुई वटा ड्रोन, दुई वटा वाकीटकीलगायत समान बरामद गरेको छ ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।