काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङको लेखा प्रमुख रहेकी पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्र सेवकका रुपमा जनसेवाश्री चतुर्थ पदक पाएकी उनलाई अदालतले जिम्मेवार कर्मचारीले भ्रष्टाचार गर्नुले देशको सुशासनप्रति जनताको आशा गिरेको समेत उल्लेख गरेको छ ।
महतले घुस लिएको भन्दै ०७९ असारमा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो ।
उनले सेवाग्राहीसँग घुसबापत एक लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएर विशेषमा मुद्दा दायर गरेको थियो ।
फैसलाको पूर्ण पाठमा महतले सेवाग्राहीको काम गरिदिन घुस रकम लेनदेनका लागि लामो समयदेखि बाध्य बनाएको उल्लेख छ।
उनले सेवाग्राहीसँग प्रत्यक्ष घुस माग गरेको अडियो र रकम बुझेको भिडिओ प्रमाणका रुपमा अदालतमा पेस भएको थियो।
अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि उनले सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
महतले घुससहित रंगेहात पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र सरकारबाट पदक पाएकी थिइन् । १ वैशाख ०७९ मा उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा प्रवल जनसेवाश्री पदक प्रदान गरिएको थियो।
