काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रस्तुतिकणको अवलोकन गर्नु भएको छ भने कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए ।
उनले विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको कुरा बताए ।
मुख्यमन्त्री कार्कीले कुनै पनि नागरिक प्रहरी कार्यलयमा समस्या लिएर आउँदा निराशा लिएर फर्कन नपर्ने गरी प्रहरी सेवा प्रदान गर्न र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकहरुको चेतनाको स्तर बृद्धि गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
निर्देशनकै कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय लिलाबल्लभ अधिकारीले समस्या परेको मानिसले कि त ईश्वर कि प्रहरीको नाम लिने बताए ।
त्यसकारण जहाँ प्रहरीको उपस्थिति छ त्याहाँ राज्य छ, प्रहरी देखेर अपराधी डराउने र सर्वसाधारण नागरिकले सुरक्षाको अनुभुति हुने गरी निरन्तररुपमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले कोशी प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धान र शान्ति सुरक्षाको निम्ति गरेको अतुलनिय कार्यको लागि विशेष धन्यवाद दिदै प्रदेशमा शान्ति सुरक्षाको निम्ति प्रदेश प्रमुख सचिवको तर्फबाट सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रहरी जनशक्ति परिचालन, कोशी प्रदेशको समग्र शान्ति सुरक्षा, प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा गरेको उल्लेखनिय कार्य, बिद्यमान सुरक्षा चुनौती तथा प्रदेश सरकारसंगको अपेक्षाको वारेमा प्रस्तुतिकरण गरेका थिए ।
निरीक्षण भ्रमण तथा अवलोकन कार्यक्रममा पालेका मुख्यमन्त्री कार्की तथा अतिथिहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले स्वागत गर्नुका साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएकोमा बिशेष धन्यवाद ब्यक्त गर्दै उक्त कार्यक्रममा मुख्य मन्त्री कार्कीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
निरीक्षण भ्रमण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
