काभ्रे । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूमा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती न.पा.-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको आइतबार अनुगमन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् ।
सो क्रममा उनले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालाहरूसँग समन्वयको आवश्यकतामा जोड दिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेको चर्चा गरे । निर्माण कार्य समयमै सम्पन्न गराउन सबैको साथ, समन्वय र सहयोग आवश्यक रहेको उनले बताए ।
सो अवसरमा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी उच्च पदाधिकारीहरू एवम् निर्माणमा संलग्न सरोकारवालाहरू बिच निर्माणमा देखा परेका समस्याहरू समाधान तथा चुनौति लगायतका विषयमा छलफल समेत भएको थियो ।
उक्त अवसरमा गृहमन्त्री रवि लामिछाने, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह तथा SS (Admin & DP) प्रशान्त कुमार सोना, गृहमन्त्रालयका सहसचिवद्वय कृष्ण नेपाल तथा थानेश्वर गौतम, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गरे । साथै उनीरूले निर्माणाधिन प्रतिष्ठान परिसरमा रूद्राक्ष र कपुर वृक्षरोपण समेत गरे ।
नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिएको उक्त अवसरमा Central Public Works Department (CPWD) का परामर्शदाता ई. राजेश कुँवरले निर्माणाधिन प्रतिष्ठानको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
