चितवन । चितवनको स्मल हेभन बोडिङ स्कुल बसमा आगजनी गर्ने समुहका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । घटनाको १२ दिनपछि आरोपी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भरतपुरपुर महानगरपालिका-२५ घर भएका पुर्व जनमुक्ति मोर्चाका बिर्गेड कमाण्डर महाबिर भन्ने महेश चौधरी रहेका छन् । विप्लव माओवादीबाट छुट्टिएर उनले बिद्रोह संगठन अर्थात् नेकपा (माओवादी) खडा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एउटा स्कुल बसको गाडी जलाएर तर्साउनको लागि उनको समूहले पैसा असुल्नको लागि यस्तो आतंककारी क्रियाकलाप गर्दै आएको चितवन प्रहरी प्रवक्ता नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए ।
डीएसपी रिजालकाअनुसार आरोपी चौधरी काभ्रेको बुद्धचित्तको रुख काट्ने गिरोहको नाइके समेत रहेको खुलेको छ । त्यसैले उनलाई सोमबार थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको रिजालले बताए ।
त्यस्तै २०८० माघ २८ गते चौधरीको समुहले भरतपुर महानगरपालिका-२६ स्थित ज्योतीनगरमा रहेको सुर्यदय बोमी लघुवित्त सस्था लिमिटेडमा समेत पेत्रोल बम्ब प्रहार गरि आगजनी गरेका थिए ।
त्यसैगरी चौधरीको ग्रुपका केही सदस्यहरुलाई समेत मकवानपुर प्रहरीले हतियार तथा बिस्फोटक पदार्थसहित पक्राउ गरेको छ । उनीहरुको उद्देश्य नै तर्साएर पैसा उठाउने रहेको नायब उपरीक्षक रिजालले बताए ।
गत ३० वैशाखमा चितवनको भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको थियो ।
जतिबेला ५-६ जनाको समूहमा आएका व्यक्तिहरूले चालक र सह-चालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गरेर बस आगजनी गरेका थिए । पेट्रोल बम हानिएपछि आगो लागेर बस पूरै जलेको थियो ।
तर, त्यतिबेला कसले र किन बम प्रहार गरेको भन्ने खुल्न सकेको थिएन । बस आगजनी घटनामा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवरले समेत चासो राखेका थिए । तत्काल घटनामा सलग्न व्यक्तिहरुलाई पक्राउ गर्न कुवरको निर्देशन थियो ।
घटनाको १२/१३ दिनसम्म घटनामा सलग्न व्यक्ति कोहि पक्राउ नपरेपछि चितवन प्रहरीलाई टाउको दुखाइको विषय बनेको थियो । तर प्रहरीले चौधरीलाई पक्राउ गर्न सफल भएपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
