काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ४ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) पदमा चारजना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा डिआईजी बढुवामा सिफारिस हुनेहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई साङ्गठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षा एवम् प्रमाणमुखी अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
