काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको ४८ घण्टा नबित्दै एक प्राविधिक उपसचिवले आत्महत्याको बाटो रोजेका छन् ।
जेठ ८ गते मंगलबार विशेष अदालतबाट सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको मुद्दामा भ्रष्टाचारी ठहर भएर सजाय र जरिवाना तोकिएका उपसचिव नविन पोखरेलले जेठ १० गते बिहीबार आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
प्रहरीले उनको घरबाट सुसाइड नोट समेत बरामद गरेको छ ।
मंगलबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले प्रेस खरिदमा भएको भ्रष्टाचारको मुद्दामा पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख रूपैयाँ जरिवाना असुल गर्ने आदेश गरेको थियो ।
अदालतको फैसलाको ४८ घण्टा नबित्दै पोखरेलले भने आफ्नै कारणले मृत्युवरण गरेको भन्दै आत्महत्या गरेका छन् । पोखरेलविरूद्ध अख्तियारले २०८० वैशाख ३ गते भ्रष्टाचार मुद्दा दायर गर्दै ४९ करोड ४६ लाख बिगो मागदावी लिएको थियो ।
अख्तियारले गत वैशाख ३० गते पोखरेलसहितका केहीविरूद्ध फेरि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसमा नविन पोखरेलसँग ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
अख्तियारले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको अभियोग लगाएको थियो ।
प्रहरी वृत्त, ठिमीले केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबार नै पोखरेलको शवको पोष्टमार्टम गरिसकेको तर प्रतिवदेन आउन बाँकी रहेको जनाएको छ ।
पोखरेल इन्जिनियरिङ समूहका उपसचिव हुन । उनी पछिल्लो समय वन तथा वातावरण मन्त्रालयमा कार्यरत रहेका थिए ।
