काठमाडौं । विशेषतः ६० वर्षमाथिका उमेर समूहलाई ज्येष्ठ नागरिक मानिन्छ । त्यसैले ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ समेत भन्ने गरिन्छ ।
यसो भन्नुको अर्थ हो, बुढापाकाहरुले हामीले भन्दा केही न केही कुराहरु बढी बुझेका जानेका हुन्छन् । उनीहरुले समाजको पहिल्यैदेखिको अवस्था बुझेका हुन्छन् । जुनकुरा तपाईहामी भर्खरैको मान्छेहरुलाई थाहा नहुन सक्छ ।
सोहीक्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय, इलामले एउटा सानो कार्यक्रम आयोजना नै गरेर ज्येष्ठ नागरिकहरुसँग भेट गरेको छ । प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले ज्येष्ठ नागरिकहरुसँग भेट गरेका हुन् ।
भेटमा समसामयिक बिषय वस्तुहरुमा छलफल तथा अन्तरक्रिया भएको एसपी ढकालले बताए । इलाम प्रहरी प्रमुख समेत रहेका एसपी ढकालले जेष्ठ नागरीकहरुसँग वर्तमान शान्तिसुरक्षाको बिषयवस्तुमा राय सुझाव लिएका थिए ।

‘इलामको विगत र वर्तमान अवस्थाबारे समाजका प्रतिष्ठित ज्येष्ठ नागरिकहरुलाई बढी थाहा हुने हुँदा भेटघाट कार्यक्रम गरिएको हो,’ एसपी ढकालले भने, ‘सोक्रममा इलामको वस्तुस्थितिको बारेमा धेरै कुराहरु बुझेका छौं । यसले गर्दा पुलिसलाई समेत काम गर्न सहज हुने अनुमान गरिएको छ ।’
त्यसपछि कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले आफूहरुले थाहा पाएसम्म यस्तो भेटघाट कार्यक्रम हालसम्म नभएको हुँदा यो परिचयात्मक भेटघाट ऐतिहासिक भएको बताएको इलामका डिएसपी प्रकाश जबेगुले बताए ।
विगतको प्रहरीभन्दा हालको प्रहरी कर्मचारीको काम कारवाही गर्ने शैली धेरै नै फरक रहेको बताउँदै उनीहरुले हामी जेष्ठ नागरिकहरुलाई आफ्नै अभिभावकको रुपमा सम्झि बोलाएर गुनासो सुनिदिएकोमा खुसी प्रकट गरेका थिए ।
यो कार्यक्रमले इलाम प्रहरीको चौतर्फी प्रशंसा भएको छ ।
