चितवन । गर्मी बढेसँगै चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।
जिल्ला कारागार चितवनले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको जनाएको छ । कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको जिल्ला कारागार चितवनले जनाएको छ । कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासीमा स्थानान्तरण गरिएको छ ।
दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् ।
