काठमाडौं । पर्सा प्रहरीले विभिन्न जघन्य प्रकृतिका अपराधहरुमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । कुख्यात अपराधी तथा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका प्रेम गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार बिहान ५ बजे लुकिछिपी प्रसौनी गाउँपालिका ७ महुवन बलुवा बस्ने ७१ वर्षीय गिरीलाई आफ्नै घरमा बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ ।
पर्साबाट खटिएको प्रहरी टोलीले नेपाललगायत भारतका विभिन्न राज्यमा अपराध गरी भारतीय प्रहरी लगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार कुख्यात अपराधीको नाममा परिचित रहेका गिरी पर्साको कुहडीका पन्नालाल सनारको पत्नीको कर्तव्य ज्यान मुद्दामा फरार लगायत अपहरण, डकैती मुद्दामा पनि फरार रहँदै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले बताए ।
प्रेम गिरी संलग्न अपराधहरू
– मिति २०६५।०६।२२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेकोकर्तव्य ज्यानमुद्दा,
– मिति २०५७।०५।१२ गते अं। १२:३० बजे रातीको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.वि.स. वडा नं।४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादव मृत्यु भएको खुन डाँका मुद्दा,
– मिति २०६६।११।१९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको,
– मिति २०६०।०९।२५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको,
– मिति २०६०।०३।०३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको ,
– मिति २०५६।०२।०४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेको ।
