काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको दाबी गरेका छन् ।
आइतबार संसदको बैठक सकिएपछि संसद् भवनको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले रास्वपा र एमालेबीच यी दुई विषय नउठाउने गरी समझदारी बनेको दावी गरेका हुन् ।
महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण रास्वापाले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।
‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईँहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’
कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिएका गृहमन्त्री लामिछानेले एमाले जोडिएको कुनै पनि विषयको उठान गरेका थिएनन् । सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो ।
