काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले २१ जना लागूऔषध सेवनकर्ताहरुलाई पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण दिएर छाडेको छ ।
पछिल्लो समय कास्कीको पोखरास्थित विभिन्न एकान्त स्थानहरुमा अखडा बनाई लागूऔषध सेवन गरी हिँड्डुल गर्ने मानिसहरुलाई डरत्रास देखाउने, लुटपाट तथा चोरी गर्ने गरेको भन्ने अत्याधिक जनगुनासो थियो ।
सोहीअनुरुप कास्की प्रहरीले समाजमा हुने विभिन्न अपराधिक घटना नियन्त्रण गर्न स्विप अप्रेसन नै सञ्चालन गरेको थियो ।
“स्विप अप्रेसन” टोलीले विभिन्न स्थानहरुबाट लागूऔषध सेवन गरी लठ्ठ परी बसेका, ५/७ जनाको ग्रुप बनाई विभिन्न अश्लिल शव्दहरु प्रयोग गर्दै होहल्ला गरिरहेका अवस्थामा २१ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर निजहरुको अभिभावक समेत बोलाई प्रशिक्षण दिएर छाडिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
उनीहरुलाई अभिभावकको रोहबरमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराका प्र.व.ना.नि. विद्याधर त्रिपाठीले लागू औषध दुर्व्यसनी, लागू औषधको प्रयोगबाट हुने असर तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए ।
निजहरुले अब आइन्दा लागूऔषध सेवन नगर्ने, लागूऔषध सेवन गर्ने व्यक्ति तथा कारोवारमा संलग्न व्यक्तिहरुको सम्वन्धमा प्रहरीलाई सूचना दिने र असल नागरिक बन्ने प्रतिवद्दता समेत जनाएको एसपी थापा बताउँछन् ।
सोहीकारण उनीहरुलाई अभिभावकको जिम्मा लगाई छाडिएको हो । दोहोर्याएर उनीहरुलाई प्रहरीले पुनः पक्रिएको अवस्थामा लागू औषध मुद्दामा मुद्दा चलाउने एसपी थापाले बताए ।
