काठमाडौं । शुक्रबार साँझ निस्किएको प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिस तुलनात्मक रुपमा सन्तुलित र निष्पक्ष देखिएको छ । यद्यपी यसमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकै ब्याचका अधिकृतहरु भने छुटेका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द आईजीपी कुँवरका ब्याची हुन् । उनीहरु तीनैजना बढुवामा छुटेका छन् । कार्यसम्पादनमा उनीहरु कमजोर रहेको बताइएको छ । उनीहरु व्यवसायीक समेत नभएको स्रोत बताउँछ ।
चार जनाको बढुवा सिफारिसमा हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका ब्याची एसएसपी कृष्णहरि शर्मा पोखरेल चाहिँ परेका छन् । शर्मा पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए । त्यसैले डिआईजी बढुवाको पहिलो नम्बरमा परेका छन् ।
त्यस्तै, तल्लो ब्याच २०५४ अर्थात १११ को टोलीबाट दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी बढुवामा परेका छन् । उनीहरु तीनैजना संगठनका काबिल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । अहिलेको परिस्थितिमा २०८२ भदौपछि उनीहरुमध्ये एकजना नेतृत्वमा पुग्नेछन् ।
तर, डिआईजी बढुवामा सिनियर २०५३ मा राअविबाट नेपाल प्रहरीमा स्थान्तरण भएका टोली पनि प्रतिस्पर्धामा थियो । एसएसपीहरु सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमा चतुर्वेदीलगायत प्रतिस्पर्धामा रहेपनि उनीहरु बढुवामा पर्न सकेनन् ।
सरकारले गरेको निर्णयलाई मान्नुको कुनै विकल्प नरहेको एक अवकाशप्राप्त आईजीपी बताउँछन् । ‘बढुवाको पनि मापदण्ड छ, त्यसैलाई टेकेर बढुवाको लागि सिफारिस गर्ने हो,’ ती पूर्वआईजी भन्छन्, ‘जतिबेला सिनयिर भनेर पनि हुँदैन । कासमूअनुसार निर्णय हुने कुरा हो ।’
यता आईजीपी कुँवरले कार्यसम्पादन मूल्यांकनको नम्बरको आधारमा डिआईजी बढुवा सूची निकालिएको बताउँछन् । नेतृत्व विकासको लागि डिआईजी बढुवा निकै पेचिलो बनेपनि मिडियामा आएको सबै कुरामा सत्यता नरहेको बताउँछन् ।
भावी नेतृत्वमा उथलपुथल
प्रहरीमा डिआईजी बढुवाले भावी नेतृत्वको हिसाबकिताब नै उथलपुथल बनाइदिएको छ । एक ब्याच सिनियर एसएसपीलाई उछिनेर कार्की, केसी र अधिकारीलाई सरकारले डिआईजीमा बढुवा गरेपछि भावी प्रहरी नेतृत्वबारे नयाँ लेखाजोखा सुरु भएको छ ।
नत्र, २०५३ को टोली अर्थात शाह, राठौर र चतुर्वेदीहरु अहिलेको अवस्थामा डिआईजी बढुवाको लागि सिफारिस भएको भए आगामी २०८२ भदौपछि यिनीहरुमध्ये एकजना प्रहरी नेतृत्वमा पुग्ने थिए । त्यसपछि कार्की, केसीहरुको पालो आउने नै थियो ।
तर, एक ब्याचलाई उछिनेर कार्की, केसी र अधिकारी डिआईजीमा बढुवा सिफारिस भएपछि अब के हुने हो भनेर भन्न सकिने अवस्था छैन ।
००००
नेपाल प्रहरीमा बढुवाको कारण निकै विवाद उत्पन्न हुने गरेको छ । एउटा सिफारिसमा पर्यो भने अर्को रुष्ट भइहाल्छन् । पारदर्शी, वैज्ञानिक र कार्यक्षमता मूल्याङ्कन गरेर बढुवा गर्ने भनिएपनि त्यो कार्यान्वयनमा जान सकेको छैन । हरेकचोटि बढुवा हुँदा कुनै न कुनै झमेला निस्किनै हाल्छ ।
अहिलेको बढुवामा पनि अर्को टोलीले असन्तुष्टि जनाएको छ । कार्यक्षमता नहेरिकन बढुवा गरिएको भन्दै केही प्रहरी अधिकृतले आलोचना गरेका छन् । आफूभन्दा एकाध वर्ष ढिला भर्ती भएका र प्रमोशनमा पनि पछि परेकालाई प्राथमिकतामा राखिएको आरोप लगाउँदै सिनियरहरुले विरोध जनाएका छन् ।
बढुवा निष्पक्ष नहुँदा आफूहरु अन्यायमा परेको उनीहरु बताउँछन् । आफूभन्दा तल्ला ब्याच बढुवा भएपछि पुरानो टोली हेरेको हेर्यै भएको छ । तर, प्रहरी उपरीक्षक (एसपी) बढुवादेखि एसएसपी बढुवासम्म उनीहरु एकैपटक बढुवा भएका हुन् ।
