काठमाडौ । मोरङको बेलबारीमा एउटै परिवारका ससुरा बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मोसो दलिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भइ हाल बेलबारी–११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई स्थानीयले कालोमोसो दलेको प्रहरीले जनाएको छ ।
सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
एसपी कार्कीकाअनुसार घटनामा सलग्न ५ जना पक्राउ परेका छन् ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो ।
विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका छन् । जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन ।
