काठमाडौं । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो ।
शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ । ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ ।
कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ’, सीताले भनिन् ।
यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छिन् । शमशेरबहादुर बोल्न सक्दैनन् । उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ ।
कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् ।
