काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
‘संसदीय समिति गठनका विषयमा छलफल गर्न प्रधानमन्त्रीजीले आज साँझ ६ बजे छलफलका लागि बोलाउनु भएको छ, हामी छलफलमा जान्छौं,’ उनले भने ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान लिंदै आएको छ । कांग्रेसको उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । तर सत्ता पक्ष कांग्रेसको मागमा असहमत छ । यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।
यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।
शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
