काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘पिए हुँ’ भन्दै ठगी गर्ने व्यक्ति प्रहरी फन्दामा परेका छन् ।
हुम्ला चंखेली गाउँपालिका घर भई काठमाडौं बस्ने दीपेन्द्र सिरालाई प्रहरीले पक्राउ गरी ठगी र कीर्ते मुद्दा समेत चलाइसकेको छ ।
सिराले आफू प्रचण्डको पिए हुँ भन्दै नक्कली नियुक्ति पत्र देखाएर नियुक्ति दिलाउने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले १० लाख ९५ हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । माओवादी निकट रहेका सिराले प्रधानमन्त्रीको पिए भएको विश्वासमा पारेर ठगी गरेका हुन् ।
जनकराज लावड र नविनसिंह धामीलाई शिक्षासम्बन्धी परियोजनामा प्रबन्धक निर्देशक पदमा नियुक्ति गरिदिने भन्दै पत्र समेत देखाएर ठगी गरेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले सिरालाई पक्राउ गरी मुद्दा दायर गरेको हो । यसमा दुई जना फरार छन् ।
