काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख परिवर्तनको तयारी गरेको छ । यी दुई वटा प्रहरी युनिटलाई ध्यानमा राख्दै गृहले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको तयारी गरेको हो ।
परिसर र अपराध कार्यालय दुवैको प्रमुख एसएसपी हुन्छन् । हाल काठमाडौं प्रहरी प्रमुखमा भुपेन्द्र खत्री र अपराध कार्यालय प्रमुखमा सोमेन्द्र सिंह राठौर रहेका छन् । उनीहरु प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
उनीहरुले ४ भदौ २०८० मा कार्यालयको जिम्मेवारी सम्हालेका थिए । ८ महिनामै उनीहरुको सरुवा हुन लागेको छ । प्रहरीमा कम्तीमा इन्चार्ज एक वर्षसम्म बस्ने पाउने व्यवस्था छ । तर, उनीहरुको समयाअगावै सरुवा हुन लागेको हो ।
यो पनि पढ्नुहोस्…
काठमाडौंमा जमेको एसएसपीद्धयको जोडी
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर यतिबेला विदेश भ्रमणमा छन् । स्रोतका अनुसार आईजी कुँवर नेपाल फर्कनासाथ एसएसपीको सरुवा हुनेछ । एसएसपीको सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुनेछ ।
‘करियर प्लानिङ’का हिसाबले यी दुबै युनिट महत्वपुर्ण मानिन्छन् । अपराध कार्यालय उपत्यकाको महत्वपूर्ण सुरक्षा कमाण्ड गर्ने युनिट हो । त्यस्तै काठमाडौं परिसरलाई काठमाडौं जिल्लाको सुरक्षा जिम्मा हुन्छ ।
दुबै युनिट प्रहरी अधिकारीको आकर्षक र सुरक्षा चुनौती मानिएको ठाँउ हो । त्यसैले परिसर र अपराध कार्यालय आउन दर्जनौं एसएसपीहरु दौडधुपमा लागेका छन् ।
तर, गृहले परिसरमा एसएसपी वसन्त रजौरे र अपराध कार्यालयमा सानुराम भट्टराईलाई पठाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार अपराध कार्यालयको एसएसपीमा ओम अधिकारी र दिनेश आचार्यको पनि सम्भावना देखिएको छ ।
एसएसपी भट्टराई संगठनमा अब्बल र इमान्दार प्रहरी अधिकृत हुन् । त्यस्तै रजौरे समेत संगठनमा कमाण्ड गर्न सक्ने अधिकृतका रुपमा चिनिन्छन् । सम्भवतः परिसर र उपत्यका कार्यालयमा उनीहरुकै सरुवा हुनेछ ।
योसँगै अन्य युनिट एवं प्रदेश प्रहरी लगायतमा कार्यरत केही एसएसपीको समेत सरुवा हुने बताइएको छ ।
