काठमाडौं । नेपाल प्रहरीका धेरै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उपत्यका अपराध अनुसन्धान कार्यालय (केरकार) र जिल्ला प्रहरी परिसर, काठमाडौंमा आए, आफ्नो कार्यकाल पुरा गरेर गए । कतिको जोडी जम्यो भने कत्तिको बोलचाल समेत भएन ।
तर, काठमाडौं प्रहरी प्रमुखको नेतृत्वमा रहेका एसएसपी भुपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी सोमन्द्र सिंह राठौरको जोडी भने जमेको नै छ । उनीहरु कुनै पनि काम गर्दा एकआपसमा सल्लाह गरेर गर्ने गरेको बताइन्छ ।
४ भदौमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई केरकार र परिसरको जिम्मा दिएपछि अपराध कर्म गर्ने र अवैध धन्धाधारीको निद हराम हुन थालेको छ भने सुरक्षा चाहने जनता खुसी पनि भएका छन् । उनीहरुको आगमनसँगै काठमाडौंवासीले सुरक्षाको अनुभूति गर्न पाएका छन् ।
मिडियामा आउन त्यति दिलचस्पी नदिने तर जनताको सुख–दुःखसँग प्रत्यक्ष सरोकार राख्ने उनीहरु कहिल्यै पनि नाम र दामलाई केन्द्र विन्दुमा राखेर काम गर्ने अधिकृतका रुपमा चिनिएनन् ।
नेपाल प्रहरीका यी दुई नायक नाम र दाम होइन काम गर्नुपर्छ भन्ने अधिकृत हुन् । विरालो मार्दा पनि बाघ मारेको हल्ला पिटाउने अधिकृतका अगाडि यि दुई नायक आमजनताको नजरमा बहादुर सिपाहीका रुपमा मुल्यांकित भएका अधिकृत हुन् ।
एसएसपी खत्रीको विषयमा विगत धेरै लामो कहानी भन्नु भन्दा एक स्थानका बारेमा उल्लेख गर्दा नै काफी हुन्छ । उनले रौतहट प्रहरी प्रमुख हुँदा जिउँदो मान्छेलाई इटाभट्टामा जलाएर मार्ने नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई पक्राउ गरेर मुद्दा चलाएका थिए ।
आलम अहिले पनि जेलमा नै छन् । जसकारण एसएसपी खत्री चर्चामा आएका थिए । जतिबेला सच्चा उद्योगी, व्यापारी र सर्वसाधारणका नजरमा ‘हिरो’ साबित भएका थिए भने अवैध गर्नेका आँखामा भने उनी विदाई हुने दिनसम्मै कसिंगर भएर रहिरहे ।
प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले रौतहटसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी सम्हाले । त्यस्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा नगर प्रहरी कार्यालय काठमाडौंको नेतृत्व गरेका उनी प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर कार्यसम्पादन गरिसकेका अधिकृत हुन् ।
एसएसपी खत्रीको चरित्र र शैलीसँग ठयाक्कै मेल खाने एसएसपी राठौरले अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालसँगै थुप्रै कामहरुमा सफलता हात पनि पारेका छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदादेखि नै गुण्डा र अवैध कामधारीका दुश्मन राठौरको नाम सुनेपछि गुण्डाहरुको भागाभाग हुन्छ, भएको छ ।
उनी जहाँ बस्छन्, त्यहाँ केही न केही नयाँ काम गरेर देखाउने शैलीका एसएसपी राठौर प्रहरी संगठनमा खरो अधिकृतका रुपमा चिनिन्छन् । डिएसपी हुँदा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी वृत लैनचौर (सोह्रखुट्टे) र एसपी हुँदा पर्सा, मकवानपुर र कैलालीको सफल कमान्ड गरिसकेका अधिकृत हुन् राठौर ।
एसएसपी खत्री र राठौरले काठमाडौं हाँकिरहँदा थुप्रै कामहरु समेत भएको छ । आपराधिक क्रियाकलाप गुण्डागर्दी शुन्यमै झरेको छ भने चोरी, लुटपाट, हत्या, ठगी कम भएको बताइन्छ ।
जनताले तिरेको करबाट आफूले रासन र आसन पाएको बताउने उल्लेखित दुई प्रहरी अधिकृतबाट उपत्यकावासीले धेरै आशा गरेकाले पक्कै आफ्नो पुरानो चरित्रलाई यी दुई नायकले लागू गर्नेछन् भन्ने कुरा निश्चितप्रायः ठानिएको छ ।
उनीहरुलाई कमाण्ड गरेका छन् उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापाले । अहिलेको अवस्थामा थापा भावी आईजीपीको रुपमा देखिएका छन् । जसले गर्दा एआईजी थापाको अण्डरमा काम गर्दा एसएसपीद्धय खत्री र राठौरलाई झनै सजलो भएको छ ।
