काठमाडौं । जाजरकोटका एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै गेटमा ‘विष सेवन’ गरेका छन् । गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा आफूले विष सेवन गरेको ती युवकको दाबी छ ।
जाजरकोटका गणेशमान सिंह नामका युवकले साइबर ब्यूरोको गेटमै विष सेवन गरेका हुन् । जुनकुरा सिंहले सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गरेका छन् ।
आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भिडिओमा सुन्न सकिन्छ ।
उक्त भिडिओमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई चिन्छस् ? जस्ता प्रश्न सोधेर मानसिक यातना दिएपछि बाध्य भएर ‘औषधी’ सेवन गरेको जनाएका छन् ।
सिंहले ‘औषधी’ सेवन गरेपछि तत्कालै वीर अस्पताल लगिएकोमा उनलाई आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएपछि वीर अस्पतालमा आईसीयू नभएको र हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसबारेमा ब्यूरोले भने सोधपुछका लागि ती युवकलाई इलामको कुनै एक होटलको बारेमा अनर्गल कुरा लेखेको उजुरी परेपछि सोधपुछको लागि बोलाइएको जनाएको छ । तर त्यसपछि उनले के गरे भन्ने विषयमा जानकारी नआएको ब्यूरोको भनाइ छ ।
भिडिओ सुन्नुहोस्
