काठमाडौं । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीको जाहेरीका आधारमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाएको बताइएको छ। उनीमाथि रचना खतिवडालाई लक्षित गरी दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रसाईंले सार्वजनिक कार्यक्रममा रचना खतिवडाले आफ्नो छोराको मृत्युको बदलामा सांसद पद प्राप्त गरेको आशयको अभिव्यक्ति दिएका थिए। उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने टिप्पणी गरेको विषयलाई लिएर खतिवडाले आपत्ति जनाउँदै आएकी थिइन्।
उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खतिवडा गत मंगलबार प्रतिनिधिसभाको बैठकमै भावुक बनेकी थिइन्। उनले आफू व्यक्तिगत राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउँदै छोरासहित जेनजी आन्दोलनका सहिदले न्याय नपाएसम्म आफू निरन्तर आवाज उठाइरहने बताएकी थिइन्।
खतिवडाले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आरोपले गहिरो पीडा दिएको बताउँदै सहिद परिवारको पीडालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गरेकी थिइन्। उनले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिनसमेत तयार रहेको बताएकी थिइन्।
रसिक खतिवडा २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेमध्येका एक हुन्। त्यसपछि उनकी आमा रचना खतिवडा छोराको न्यायका लागि सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी थिइन्। पछि रास्वपाले उनलाई समानुपातिक सूचीमा समेटेको थियो र उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन्।
प्रसाईंमाथि यसअघि पनि विभिन्न अभिव्यक्ति तथा साइबरसम्बन्धी कसुरमा पटक–पटक अनुसन्धान र पक्राउको प्रक्रिया अघि बढिसकेको छ। यसअघि २०८३ साउनमा पनि उनलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।
हाल प्रसाईंमाथि साइबर ब्युरोमा सोही अभिव्यक्तिसम्बन्धी विषयमा केरकार भइरहेको जनाइएको छ।
