काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न आरोपी राजु गुरुङले आत्मसमर्पण गरेका छन् । तेह्रथुम घर भएर ढोलाहिटी बस्दै आएका गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन् ।
उनलाई ललितपुर प्रहरीले खोजी गरिरहेको थियो । आरोपी गुरुङले आत्मसमर्पण गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको मृत्यु भएको थियो ।
ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा यसअघि रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
