मोरङ । प्रहरीका सहायक हवल्दारले एक जना भारतीय युवकमाथि छुरा प्रहार गरेका छन् । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा प्रहरीका सहायक हवल्दार दुसेन्त राजवंशीले भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमानमाथि छुरा प्रहार गरेका हुन् ।
सलमानमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गरिएको छ ।
उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने सहायक हवल्दार राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी गण रानी विराटनगर दरबन्दी भएका राजवंशी अस्थायी प्रहरी पोस्ट आयल निगममा कार्यरत थिए ।
आफ्नी श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले भारतीय नागरिक सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको अवस्थामा भेटेपछि सहायक हवल्दार राजवंशीले सलमानमाथि छुरा प्रहार गरेका थिए ।
