काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बिहानैदेखि रङ दलेर खुशी साटासाट गर्न थालिसकेका छन् ।
संयोगवश बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइरहँदा बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको बागडोर सम्हालेको पनि आज एक वर्ष पूरा भएको छ ।
कुँवर नेपाल प्रहरीका ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) हुन् । ११ चैतमा कुँवरले करिब ८० हजार प्रहरी फौजको नेतृत्व सम्हालेका थिए ।
एक वर्षे प्रगतीविवरणबारे स्कुपखबरसँग कुराकानी गर्दै आईजीपी कुँवरले आफ्नो एकवर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले आफुले कसैको चित्त दुखाउने गरी कार्यकाल नबिताएको बताए ।
महानिरिक्षक कुँवरले आफ्नो कार्यकाल नसकिएकाले आफ्नो कार्यकालमा थप प्रहरी संगठनको हितमा काम हुने दावी गरे । तर, आईजीपी कुँवर पछिल्लो एक वर्षमा मिडिया प्रचारप्रसारबाट अलि टाढा नै रहे । हल्ला भन्दा बढी काममा केन्द्रीत भए ।
इमान्दार, खरो शैली र साहसिक भूमिकाका कारण विगतमा धेरै चर्चामा नआए पनि कुँवर आईजीपी भएपछि फरक शैलीमा अगाडि बढ्ने प्रयास गरिरहेका छन् । हल्ला कम, काम बढी गर्ने उनको रणनीति हो । मातहतका कमान्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजातिर बढी केन्द्रित हुन निर्देशन दिइरहेका छन् ।

केही प्रकरणसँगै विगतमा प्रहरीभित्र आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक चलखेल जसरी हाबी भयो, त्यसले फिल्डका हरेक सिपाहीको मनोबल कमजोर बनाएको थियो र प्रहरीको छविसमेत धमिलिएको थियो ।
नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा प्रहरी महानिरीक्षक कुँवर लागिपरेका छन् ।
आईजीपी नियुक्ति विवाद, सरुवा तथा बढुवामा हुने चलखेल तथा दौडधुपका कारण प्रहरीमा विगतमा देखिएको बेथिति र अनुशासनहीनतालाई कडाइका साथ अंकुश लगाउने काम कुँवरले गरेका छन् ।
उनी भन्छन्, ‘विगतमा त्यस्ता केही गतिविधि भए होलान् तर अब प्रहरीमा त्यस्तो हुँदैन, चल्दैन । दौडधुप र भनसुनले सरुवा बढुवा हुँदैन् । कामको मूल्यांकन गरेर प्रक्रियागत रूपमा हुन्छ, त्यो सिस्टम हामीले विकास गरिसकेका छौं ।’
आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ आफू अगाडी बढेको कुँवर बताउँछन् । ‘यो मेरो अठोट हो, म नेपाल प्रहरीलाई नमूना बनाएर एक नम्बर बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ,’ उनी भन्छन् ।
प्रहरी महानिरीक्षक कुँवरले आफूले जिम्मेवारी सम्हालेपछि आपराधिक गिरोह र समूहविरुद्ध विशेष अप्रेसन चलाएका छन् । विभिन्न प्रकृतिका अपराधमा संलग्न प्रतिवादी पक्राउ, कैद भुक्तान, जरिवाना असुल, दर्ता भएका मुद्दा फस्र्यौटलगायतले आपराधिक क्रियाकलाप न्यूनीकरणमा प्रहरीको कार्य सफल देखाएको छ ।
आईजीपी कुँवरको कार्यकालमा लामो समयदेखि फरार अपराधीहरु पक्राउ परेका छन् । यसअगाडि उनीहरु अपराध गरेर खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।
‘अपराध रोकथाम तथा अनुसन्धानमा हामीले शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौं, त्यसको नतिजा पनि देखिएको छ,’ कुँवर भन्छन्, ‘कुनै पनि आवरणमा हुनसक्ने गैरकानूनी कार्य, अपराधजन्य, हिंसात्मक घटना हुन नदिन विशेष सतर्कतासहित रणनीतिक रूपमा प्रहरी परिचालित भएको छ ।’

कुँवर प्रहरी प्रमुख भए पछि तस्करी नियन्त्रणमा पनि सफल देखिएको छ । वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा बदमासीलाई कडाइका साथ नियन्त्रण गर्न सरोकारवाला निकायहरूलाई प्रभावकारी रूपमा सघाउने काम प्रहरीबाट भइरहेको कुँवर बताउँछन् ।
लागूऔषधविरुद्ध पनि विशेष अप्रेसन नै चलाइएको छ । यसमा शून्य सहनशीलताको नीतिअनुसार कारवाही अगाडि बढाइएको छ । धेरै गिरोह नियन्त्रणमा आइसकेको कुँवर बताउँछन् । उनका अनुसार मानव बेचविखन तथा बाल यौन दुराचारलगायत सामाजिक अपराध नियन्त्रणका लागि पनि प्रहरीले आक्रामक अभियान चलाएको छ ।
सुन र चाँदी तस्करहरुका लागि स्वर्ग बन्दै आएको नेपालमा तस्करीको सुन र चाँदी बरामद हुन थालेपछि तस्करहरुको मनोवल गिरेको छ । राजस्व संकलनको क्षेत्रमा पनि प्रहरीले राम्रो सफलता हासिल गरेको छ ।
विदेशी उच्चपदस्थ पाहुनाहरु नेपाल भ्रमणमा आउँदा कुनै अप्रिय घटना हुन नदिई शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी सफल भएको छ । प्रहरीले मिलाएको शान्ति सुरक्षा पनि प्रशंसनीय रहेको छ ।
कुँवर प्रहरीलाई संघीय संरचनामा लैजानका लागि गहन गृहकार्य भइरहेको बताउँछन् । त्यही सन्दर्भमा विभिन्न प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको उनले बताए । भन्छन्, ‘ती गोष्ठीमा संगठन सुधार, सुदृढीकरण, आन्तरिक सुशासनबारेमा पनि नयाँ सर्कुलर जारी गरिएको छ ।’
राष्ट्रसंघीय मिसन तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रहरीको भूमिका र सहभागिता बढाउनेबारेमा आईजीपी कुँवरले पहल थालेका छन् । संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी भएर उनले अन्य देशका प्रहरी प्रमुख तथा नगारिक सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका थिए ।
आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका कुँवरको सुरक्षा वृत्तमा बेग्लै पहिचान छ । उनी संगठनभित्र जति लोकप्रिय छन् बाहिर पनि उनको छवि राम्रो छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यावसायिक शैलीका कारण उनी आफूलाई फरक आईजीपीको कोटीमा राख्छन् ।
विगतमा धेरै अप्ठ्यारा अवस्थामा उनले निकै सुझबुझका साथ साहसिक भूमिका निर्वाह गरेका छन् । संकटका घडीमा समाधानको सूत्र बनेर उनी फिल्डमा खटिएका छन् । २९ वर्ष लामो व्यावसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड सम्हालेका छन् तर कुनै पनि अप्रेसन तथा मिसनमा उनी असफल भएका छैनन् ।
जोखिमसँग जुध्न र संकटलाई सामना गर्न उनलाई मन पर्छ किनकि त्यो साहस र धैर्य उनीसँग छ ।
