काठमाडौं । केहि दिनअघि एक कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले भनेका थिए, ‘अनुसन्धानमा लापरवाही गरेको वा अपराधीलाई सहयोग गरेको पाइएमा प्रहरीका जोसुकै वा जुनसुकै तहका हुन्, निलम्बनसँगै बर्खास्त गर्न पनि पछि हट्दिन् ।’
महानिरीक्षक कुँवरले कुनै लहडमा भनेको पक्कै थिएनन् । आफ्नो आग्रह र कुण्ठालाई शान्त पार्न जसले जसरी बुझेको वा व्याख्या गरेको भएपनि कुँवर अपराधी र तिनका संरक्षकहरुलाई कानुनको कठघरामा ल्याउन दृढ प्रतिबद्ध छन् ।
त्यसै हुनाले कतिपय स्थानमा घटना भएको २४ घण्टा भित्रै अपराधमा संलग्नहरु पक्राउ परेको पनि पाइएको छ । तर लाग्छ, कुँवर आईजीपी भएको मन नपरेका अनि उनको कारणले प्रहरीमा चल्दै आएको प्रशासनिक र व्यवसायिक हालीमुहालीलाई चुनौती ठान्नेहरु रन्थनिएका छन् ।
त्यसैले त हचुवाका भरमा, तथ्यहीन समाचारहरु छपाउँदै आईजीपीलाई कमजोर र अलोकप्रिय बनाउन सकिन्छ कि भन्ने काम भइरहेका छन् । पछिल्लो समय उनीविरुद्ध नियोजित प्रायोजित खालका समाचारहरु आइरहेका छन् ।
तर यहाँ भुल्न नहुने सत्य के हो भने वर्तमान सरकारले कुँवरलाई कुनै सेटिंग गरेर होइन, उनको योग्यता, क्षमता अनि देश र जनताप्रतिको उनको निष्ठाकै आधारमा आईजीपी नियुक्त गरेको हो । जे गुणको कारण उनि आईजीपी भएका हुन् त्यो हटिदिए हुन्थ्यो भन्नेहरुको पनि कमी छैन यहाँ ।
देश तस्कर, अपराधी र दलालहरुले चलाएको अवस्था थियो भने कुँवर आईजीपी हुने नै थिएनन् ।
तर अहिलेको अवस्था जनताका छोराहरु शासन सत्तामा रहेको अवस्था हो । भ्रष्टाचाररहित ढंगले कानुनको शासनलाई व्यवहारमा पूर्णत अभ्यास गरिनेछ भन्ने सिद्धान्तलाई व्यवहारमा उतारिरहेकाहरुको नेतृत्वमा देश चलेको अवस्था हो ।
त्यसकारण जनताको शान्ति सुरक्षा प्रत्याभूत गराउने काममा बाधक हुने जोसुकै प्रति निर्मम हुने दृढता बोकेका कुँवर आफ्नो कार्यकाल पुरा गर्नेमा कुनै दुविधा राख्न जरुरी छैन ।
नियोजित, प्रायोजित तर निराधार समाचार निकालेर आईजीपी कुँवर हट्छन् भन्दै अतृप्त आत्माहरुको सपना त धुलिसात हुने नै छ र त्यसो हुँदै गर्दा नेपाल र नेपालीहरुले थुप्रै अपराधी र तिनका संरक्षकहरुले जेलको कठघराको यात्रा गरेको देख्न पाउनेछन् ।
सबैभन्दा महत्वपूर्ण र सकारात्मक कुरो प्रहरीको विकल्प प्रहरी नै हुने हो र अहिले प्रहरीमा भएका पेशागत धर्म बुझेका व्यवसायीक एआईजीहरु आईजीपीको विकल्प बन्न होइन भरपर्दो सहयोगी बन्न दत्तचित्त छन् ।
कुँवरले जागिरे जीवनमा आफूलाई ‘लो प्रोफाइल’मा हिँडाए । २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवर ‘हाकिम शैली’ बाट धेरै टाढा छन् । उनी प्रहरीमा ‘इमान्दार’ छविको अधिकृतका रूपमा परिचित छन् ।
