काठमाडौं । गत १२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भयो । उक्त घटनामा असन्तुष्ट जनाउँदै कार्यालय प्रमुखले राजीनामा दिए ।
राजीनामा दिने प्रहरी अधिकृत थिए विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द । डीआईजी चन्दको राजीनामापछि अनेकन टिकाटिप्पणी भयो । कसैले सकारात्मक भने त कसैले नकारात्मक ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित ब्याचीहरूले राजीनामाबारे पुनर्विचार गर्न भन्दै चन्दलाई राजीनामा नदिन भन्दै सुझाए । त्यसपछि प्रधान कार्यालय मानव स्रोत विभागले उनको राजीनामा फिर्ता गर्यो ।
त्यसयता डीआईजी चन्द १० दिनका लागि घर बिदामा छन् । तर, घर विदामै रहेको बेलामा समेत डीआईजी चन्दले प्रहरी संगठनलाई नै चुनौती दिँदै एकलौटी निर्णय गरेको पाइएको छ ।
विमानस्थल विवाद प्रकरण टुंगोमा लागिसेकेको छैन । तर, छानबिन भइरहेको बेला डीआईजी चन्दले विमानस्थलका अध्यागमन अधिकृत कुटपिट गर्ने प्रहरीलाई नगदसहित पुरस्कार दिने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरु गरेको छ ।
जबकी नेपाल प्रहरी भनेको ‘चेन अफ कमाण्ड’मा चल्ने फौजी संगठन हो । तर, उनै डीआईजी चन्दले ‘चेन अफ कमाण्ड’मा चल्ने प्रहरी संगठनलाई चुनौती दिँदै आफुखुसी निर्णय गरेपछि आईजीपी कुँवर समेत असन्तुष्ट बनेका छन् ।
कमाण्ड कन्टोलमा कमजोर क्षमताका डीआईजी चन्दले राजीनामा दिनुको कारण व्यक्तिगत फाइदाको लागि रहेको स्रोत बताउँछ । ‘कमाण्डलाई नै धरापमा पार्नेगरी पुरस्कार दिने निर्णय डीआईजी चन्दको आफूखुसी निर्णय हो,’ स्रोतको दाबी छ ।
जबकी राजीनामा दिएर सर्वत्र चर्चा भएपछि डीआईजी चन्दले आईजीपी कुँवरसँग समन्वय गरेर विवादमा तानिएका प्रहरीलाई के गर्ने भनेर निर्णय गर्नपथ्र्यो । तर, एकलौटी निर्णय गरेपछि प्रधान कार्यालयले चन्दमाथि छानबिन गर्ने तयारी गरेको छ ।
राजीनामा दिएका डीआईजी चन्दको परिवार अमेरिकामा बसोबास गर्दै आएका छन् । उनको समेत अमेरिकाको कार्ड रहेको हुनसक्ने बताइएको छ । सोहीकारण राजीनामा दिएर चन्द अमेरिका भासिन खोजेको आरोप पनि छ ।
आफूखुसी निर्णय गरेपछि उनै डीआईजी चन्दको काज सरूवा भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन् ।
हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआईजी सुदीप गिरी प्रमुख छन् । विमानस्थलमा कसलाई पठाउने भन्ने निर्णय भइसकेको छैन ।
