काठमाडौं । यतिबेला नेपाल प्रहरीका एक सिनियर अधिकृत र प्रहरी जवानबीचको विवाद चर्चामा छ । ती प्रहरी जवानले आफूलाई सिनियर प्रहरी अधिकृतले जागिर छाड्न बाध्य पारेको आरोप लगाएका छन् ।
ती सिनियर प्रहरी अधिकृत हुन् प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही र प्रहरी जवान हुन् नरेन्द्र नाथ । जवान नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दा फाँट प्रमुख शाहीले अनावश्यक दुःख दिएका कारण बाध्य भएर राजीनामा दिएको बताएका छन् ।
गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नाथले कञ्चनपुरमा कार्यरत हुँदा इन्स्पेक्टर शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको आरोप लगाएका हुन् । तर, ती आरोपलाई पुष्टि गर्ने कुनै आधार भने भेटिएको छैन ।
इन्स्पेक्टर शाहीले पनि जवान नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताइन् । गत २२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा मात्र राखिएको इन्स्पेक्टर शाहीले बताइन् ।
उनी थप्छिन्, ‘तर भोलिपल्ट सम्झाईबुझाई गरेर छाडिएको हो । मेरो ती जवानसँग सोहीदिन पहिलोपटक भेट भएको पनि हो । मैले कुटपिट गरिएको भन्ने समाचारहरु समेत आएको हुँदा मेरो कार्यालयमा वास्तवमा के हो ? भनेर फोन गरेर बुझिदिन समेत आग्रह गर्छु ।’
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए । उनले इन्स्पेक्टर शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नआएको बताए ।
जवान नाथले हिरासत कक्षमा सुर्तीजन्य पदार्थ दिइरहेको फोटो समेत सार्वजनिक भएको छ । जतिबेला प्रहरीले उनलाई नियन्त्रणमा लियो त्यो समयमा खिचिएको तस्बिरमा समेत जवान नाथको साथमा सुर्तीजन्य पदार्थ लिएको देखिन्छ ।
पोल्यान्ड जान्छु भनेपछि राजीनामा
सिनियर प्रहरी अधिकृत शाहीको कारणले जागिर छोड्न बाध्य भएको बताउने प्रहरी जवान नाथले पोल्यान्ड जान्छु भन्दै राजीनामा दिएको खुलेको छ ।
पहिलोपटक ८ पुसमा राजीनामा दिएका नाथको परिवारले हारगुहार गरेपछि सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले सम्झाईबुझाई गरेर फिर्ता गरेका थिए ।
डीआईजी बोहराले जागिर नछाड्न सुझाव दिँदै नाथलाई कुनै तनाव भए रि–फ्रेस हुन २० दिन बिदा दिन समेत जिप्रका बाजुरालाई सुझाव दिएको प्रहरीले जनाएको छ ।
तर, डीआईजी बोहराको सरुवा भएपछि दोस्रो पटक बिहीबार अर्थात् १९ माघमा फेरि राजीनामा दिएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका नाथको राजीनामा प्रदेश प्रहरी कार्यालयले केही दिनअघि मात्र स्वीकृत गरेको थियो ।
‘उहाँले पोल्यान्ड जान्छु भन्दै पहिलोपटक ८ पुसमा राजीनामा दिनुभएको थियो । तर तत्कालीन डीआईजी साबले सम्झाइबुझाई गरेर फिर्ता पठाउनुभएको थियो,’ बाजुरा प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) कबिन्द्र बोहराले भने, ‘१९ माघमा फेरी राजीनामा दिएपछि हामीले प्रदेश प्रहरी कार्यालयमा पठाएका थियौँ । पछिल्लो राजीनामा स्वीकृत भएको हो ।’
तर, नाथले भने जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक बिनु शाहीले अनावश्यक दुःख दिएका कारण बाध्य भएर राजीनामा दिएको बताउँदै आएपनि उक्त कुरा पुष्टि हुने आधारहरु छैनन् ।
सिक्री हराएको घटनामा नाथमाथि कारवाही
यस्तै जिल्ला प्रहरी कार्यालयले नाथलाई सिक्री हराएको घटनामा कारवाही समेत गरेको खुलेको छ । गत असोज ६ गते भीमदत्त नगरपालिका-२ को उल्टाखाम चोकमा स्थानीयबीच झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टले लगाएको सुनको सिक्री हराएको थियो ।
स्थानीयले घटनास्थलमा भेटेपछि तत्काल प्रहरी चौकी बागफाँटामा कार्यरत उनै प्रहरी जवान नाथलाई बुझाएको थिए । तर नाथले सुनको सिक्री बुझ्न जादा टुक्रा टुक्रा पारी पटक पटक गरी बुझाएको भन्दै भट्टले जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेको डिएसपी डाँगीले बताए ।
त्यसबारे छानविन गर्दा नाथले प्रहरीलाई बुझाएको सिक्री सुरक्षित साथ सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा नगरेको र नियतबस टुक्रा टुक्रा पारी पटक पटक गरी सम्बन्धित ब्यक्तिलाई देखिएपछि उनलाई कारवाही गरिएको थियो ।
डिएसपी डाँगीले जवान नाथले पदीय आचरण विपरीत काम गरेको देखिएपछि मंसिर १२ गते अभिलेखमा जनिनेगरि नसिहद दिइएको बताए । त्यसको भोलिपल्ट नाथलाई जिप्रका कञ्चनपुरले उनको दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय सरूवा गरिदिएको थियो ।
तर नाथले बाजुरा गएको महिना दिन नपुग्दै ८ पुसमा राजीनामा दिएका थिए । राजीनामा लेखेर विदामा महेन्द्रनगर आएका नाथलाई पुस २२ गते मात्र जिल्ला प्रहरी कार्यालयमा देखिएका थिए । त्यहिबेला उनले सुर्तीजन्य पदार्थ हिरासत कक्षमा रहेका कैदीहरुलाई दिएको प्रहरीले जनाएको छ ।