काठमाडौं । आठ वर्षअघि २०७२ सालमा बालबालिकाका लागि प्रहरी–नागरिक अभियान नेपाल (पीटुसीटु)को स्थापना भएको थियो । तत्कालिन चितवन प्रहरी प्रमुख बसन्त बहादुर कुँवरकै पहलमा पीटुसीटुको स्थापना भएको बताइन्छ । हाल उनी प्रहरी संगठनको सर्वोच्च पदमा छन् ।
उक्त संस्था विशेषत सडक बालबालिकाको उद्दारका लागि गठन गरिएको थियो । संस्थाले हालसम्म झन्डै ६० जनाभन्दा बढी बालबालिकाको पुनस्र्थापना गरिसकेको छ भने हाल संस्थामा २९ जना सडक बालकहरु आश्रित रहेको जानकारी दियो । बालबालिकाको खानपान, स्वास्थ्य, शिक्षा संस्थाले उपलब्ध गराउँदै आएको छ ।
शनिबार बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपालले गरेको एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) कुँवर विशिष्ट अतिथिको रुपमा आमन्त्रित भएका थिए । उनले सडक बालबालिकाहरुमा हुने आपराधिक घटनाहरुलाई न्यूनीकरण गर्न बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियानले महत्वपूर्ण भूमिका खेलेको भन्दै अभियानको प्रशंसा गरे ।

सडक बालबालिकामा हुने आपराधिक क्रियाकलापहरुलाई न्यूनीकरण गर्न बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान सञ्चालन गरिएको स्मरण गर्दै आईजीपी कुँवरले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्यलाई देशव्यापीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने बताए ।
बालबालिका सडकमा हुँदाको जोखिमलाई कम गर्दै उनीहरुको भविष्य राम्रो बनाउनु आफूहरुको कर्तव्य रहेको कुँवरको भनाइ थियो । कार्यक्रममा बोल्दै कुँवरले आफ्नो कार्यकालमा पहल भएको अभियाने अहिलेसम्म सार्थकता पाएकोमा खुसी हुँदै आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सँगै आश्रित बालबालिकाहरुको हेरचाहमा नेपाल प्रहरी खटिँदै आएको छ । अहिलेपनि दुईजना प्रहरी कर्मचारीले उनीहरुको हेरचाह गर्दै आइरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, प्रहरी नागरिक अभियान सञ्चालनपछि सडक बालबालिकाको अवस्थामा धेरै नै सुधार आएको महसुस भएको छ ।

अहिले संस्थामा आबद्ध जतिपनि बालबालिकाहरु छन् उनीहरुको आनीबानीमा आमूल परिवर्तन आएको प्रहरीले जनाएको छ । यहाँ प्रहरीकै अगुवाइमा सडक बालबालिकाको पुनःस्थापन अभियान सुरु गरिएको अभियानका अध्यक्ष बेलबहादुर गुरूङले जानकारी दिए । उनी संस्थापक अध्यक्ष समेत हुन् ।
सोहीकारण संस्थामा चितवन जिल्ला प्रहरी प्रमुखलाई पदेन बरिष्ठ उपाध्यक्ष बनाइएको छ । आमाबाबुविहीन अवस्था, पारिवारिक कलह, आमाबाबुको दुव्र्यवहार, साथीभाईको संगत जस्ताकारणले बालबालिकाहरु सडकमा आउन बाध्य रहेको उनको बुझाई थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रहरी श्रीमती संघ नेपालकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भुमि सुधार आयोगका अध्यक्ष, जिल्ला प्रमुख अधिकारी, प्रदेश प्रहरी प्रमुख, भरतपुर तालिमकेन्द्रका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अभियानका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा तत्कालिन चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीको समेत उपस्थिति रहेको थियो । जबकी उनी संस्था स्थापना गर्ने परिकल्पनाकार थिए । सोहीकारण उनलाई संस्थाले सम्मान समेत गरेको थियो ।
