काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको १२२ दिन भयो । एआईजी थापाले ९ भदौदेखि कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
समग्रमा उनको चार महिने कार्यकाल सफल देखिन्छ । खासमा काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था मजबुत बनाएर एआईजी थापालाई सफल बनाउनमा तीनवटै जिल्लाका प्रहरी प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको महत्वपूर्ण भूमिका छ ।
एआईजी थापाको मातहतमा पर्छ, जिल्ला प्रहरी परिसर, काठमाडौं, ललितपुर, भक्तपुर र अपराध अनुसन्धान कार्यालय । एआईजी थापाको निर्देशनमा ती युनिटका नेतृत्वहरुले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिदिँदा सफलता मिलेको बताइन्छ ।

जतिबेला एआईजी थापासँगै जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरको एकैपटक सरुवा भएको थियो ।
उपत्यकामा केही गतिविधि बढ्यो भने सबैभन्दा पहिला आउने नाम हो काठमाडौं प्रहरी प्रमुखको । त्यसैले पनि एसएसपी खत्री आफ्नो काममा इमान्दिरतापूर्वक लाग्दा तल्लो दर्जाका प्रहरीसमेत सोहीअनुसार काममा खटिने गरेका छन् । उनी बेला बेला सादा पोसाकमा समेत फिल्डमा खटिने गरेको बताइन्छ ।
बैंक, वित्तिय संस्था, स्कुल, कलेज, ठूला ठूला व्यापारिक केन्द्र, सुनचाँदी पसल, देशको मुख्य प्रशासनिक केन्द्र समेत रहेको काठमाडौंमा त्यसै नि सुरक्षा चुनौती छ । तर, एसएसपी खत्रीले योजनाबद्ध रुपमा आफ्नो टिमहरु परिचालन गरेर काठमाडौंवासीलाई सुरक्षा प्रत्याभूति दिलाएका छन् ।
आफ्नो ब्याचमा एक नम्बरमा रहेका एसएसपी खत्री भावी नेतृत्वको लागि देखिएका छन् । त्यसैेले पनि उनलाई आफ्नो कार्यकालमा काठमाडौंमा आपराधिक गतिविधिलाई निस्तेज पार्न खोजेका छन् । उनको कामलाई एआईजी थापाले समेत सकारात्मक लिएका छन् ।

त्यस्तै ललितपुर प्रहरी प्रमुख छन् एसएसपी शिद्धिविक्रम साह । एसएसपी साहसमेत प्रहरी संगठनमा अब्बल र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिएका छन् । उनले ललितपुर जिल्लाको कमाण्ड सम्हालेको करिब एक वर्ष पुग्न लागेको छ ।
उनको समयमा ललितपुर जिल्लामा त्यस्ता ठूला कुनै घटनाहरु हुन पाएको छैन । स साना घटनाहरुमा तत्कालै ललितपुर प्रहरीले सफलता हात पारेको बताइन्छ । त्यसैले गर्दा पनि एसएसपी साहसमेत विवादमा आएर काम गर्न चाहँदैनन् ।
उनीसमेत आफ्नो ब्याचमा एक नम्बरमा रहेका प्रहरी अधिकृत हुन् । एआईजी थापाको ब्याचपछि साहकै ब्याची प्रहरी प्रमुख हुने हुँदा उनी ललितपुर प्रहरी प्रमुखको रुपमा रहँदा ललितपुरवासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सफल भएका छन् ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनवटा जिल्लाको सुक्ष्म निगरानी गर्ने गर्छ । कार्यालयबाट सादा पोसाकमा खटिने प्रहरीले विशेष सूचनाका आधारमा हुने आपराधिक गतिविधिहरुलाई रोक्ने काम गरेको छ ।
पछिल्लो समय तीन जिल्लाको तुलनामा अपराध अनुसन्धान कार्यालयले राम्रो काम गरिरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् । उक्त कार्यालय काठमाडौं, ललितपुर, भक्तपुर प्रहरीको सारथी बनेको छ ।
एआईजी थापाले समेत एसएसपीमा कमाण्ड सम्हालेको अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी राठौर संगठनमा निडर र व्यवसायीक प्रहरी अधिकृत हुन् । उनी जस्तोसुकै दबाबपनि थेगेर संगठनको हितमा काम गर्ने पक्षमा छन् ।
पछिल्लो समय अपराध अनुसन्धान कार्यालयले नक्कली भिजिट भिषामा विदेश पठाउने गिरोहलाई समातेर कारबाही गर्न सफल भएको छ । जुन प्रकरणमा अध्यागमन विभागका अधिकृत नै मुछिएका छन् । यसले झनै उक्त कार्यालयको प्रशंसा भएको छ ।

यस्तै भक्तपुर प्रहरी प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) वेद विष्ट । भक्तपुरमा समेत बैंक, वित्तिय संस्था, स्कुल, कलेज, ठूला ठूला व्यापारिक केन्द्र, सुनचाँदी पसल, सरकारी कार्यालयहरुरु समेत रहेकाले सुरक्षा चुनौती छ ।
तर, एसपी विष्टले समेत सहज रुपमा भक्तपुर प्रहरीको कमाण्ड गरिरहेका छन् । एआईजी थापाको निर्देशनमा भक्तपुर प्रहरीले राम्रो काम गरिरहेको बताइन्छ । पछिल्लो समय भक्तपुरमा हुने आपराधिक गतिविधि शून्य जस्तै छ ।

उनीहरु चारैजना एआईजी थापाको सफल सारथी हुन् ।
प्रहरी संगठनमा सक्षम, इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको पहिचान बनाएका एआईजी थापा अहिलेको समयमा भावी नेतृत्वको रुपमा समेत देखिएका छन् । हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरपछि थापा आईजीपी बन्नेछन् ।
