चितवन । भरतपुर महानगरपालिका ४ का ५० वर्षीय आमिर शर्मा (नाम परिवर्तन) घरमै बसिरहेको समय सामाजिक सञ्जाल चलाउँछन् । एकदिन फेसबुक चलाइरहँदा उनको फेसबुकमा रिया जिसी नामको प्रोफाइल अगाडि आयो ।
प्रोफाइल खोले, सुन्दर युवतीको फोटो थियो । उनलाई फोटो आकर्षक लाग्यो । अनि आफैं रिक्वेस्ट पठाए । केही समयमै उनले पठाएको रिक्वेस्ट स्वीकार भयो । उतैबाट ती युवतीले हाई भन्दै म्यासेज गरिन् । उनले पनि तत्कालै जवाफमा हाई भने ।
यो कुरा हो एक महिनाअघिको । दुईबीच केही दिन सामान्य गफ चल्यो । त्यसपछि उनीहरु म्यासेन्जरमै एकअर्काप्रति आकर्षित भए । ती युवती यौनका विषय उप्काउन थालिन् । आमिर उत्साहित भए । उनले पनि प्रतिक्रिया दिन थाले ।
सामान्य कुराकानीबाट सुरु भएको दुईबीचको गफ अब अश्लिल हर्कतमा पुगिसकेको थियो । ती युवती लाइभ च्याटमै आएर आमिरलाई नग्न हुन भन्थिन् । सोहीअनुसार उनी नग्न भइदिन्थे । जतिबेला ती युवती आफ्नो अनुहार लुकाउँथिन् ।
यसरी कुराकानी हुन थालेपछि एक हप्ताअघि ती युवतीले आमिरलाई फोन गर्दै बार्गेनिङ गर्न थालिन् । मैले भनेको जति पैसा नदिए म सँग कुरा गर्दा भिडियो कलमा नग्न भएको तस्बिर सुरक्षित रहेकाले सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थालिन् ।
त्यसपछि ५० वर्षीय आमिरलाई फसाद आइलाग्यो । उनी के गरुम कसो गरुम अवस्थामा पुगे । सुरुमा ५ लाखबाट सुरु भएको बार्गेनिङ २ लाखमा दिने मोटामोटी सहमति भयो । आफ्नो इज्जत जाने डरले आमिर २ लाख दिन तयार भए ।
ती युवतीले सुरुमा आईएमई गर्न भनिन् । आमिर मानेनन् । फेरी खल्तीमा हाल्दिन भनिन् । तर, आमिरले भेटेरै दिन कड्डी कसे । त्यसो भए ती युवतीले रामपुर क्याम्पसनजिकै एउटा नाला छ, जहाँ एउटा पाइप छ । त्यहाँ लगेर राख्दिन भनिन् ।
तर, कसो कसो सामाजिक सञ्जालमा बेला-बेला यस्ता ठगीका समाचारहरु पढिरहेका आमिरले प्रहरी सम्झे । पैसा दिनअघि एकपटक ‘प्रहरीलाई खबर गर्छु’ भन्दै उनी मंगलबार साँझतिर जिल्ला प्रहरी कार्यालय चितवन पुगे ।
साइबर शाखामा पुगेर आफ्नो कुरा राखे । त्यसपछि प्रहरी आफैंले आइडिया दियो । सोही आइडियामार्फत उनी पैसा दिन भन्दै बुधबार बिहान ती युवतीले दिएको लोकेशनमा पुगे । सँगै प्रहरी पनि पुगेको थियो । तर, लुकेर बसेको थियो ।
आमिरले पैसाको झोला त्यहाँ राखेर निस्के । सोही समयमा दुई जना युवाहरु उक्त झोला रिसिभ गर्न पुगे । जुन दृश्य प्रहरीले देखिरहेको थियो । तत्कालै नजिकै रहेको प्रहरी टोली त्यहाँ पुग्यो र उनीहरुलाई नियन्त्रणमा लियो ।
जतिबेला नियन्त्रणमा लिएका युवाहरु थिए चितवन रत्ननगर नगरपालिका- १३ का २० वर्षीय प्रवेश रिमाल र सिराहा लाहान नगरपालिका- १ का १९ वर्षीय युनिक सिंह । उनीहरु ती युवतीले पैसा लिन खटाएकी थिइन् ।
उनीहरुलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप सोधपुछ गर्न थाल्यो । अनि खुल्यो मुख्य नाइकेको परिचय । जब मुख्य नाइकेको परिचय खुल्यो, आमिर मात्र होइन प्रहरी नै अच्चमित भयो । युवती बनेर बोल्ने व्यक्ति थिए केटा मान्छे । ती हुन् पोखरा महानगरपालिका- २९ बस्ने २२ वर्षीय अनुराग घिमिरे ।
उनले केटीको आवाजमा दुई महिनादेखि आमिरसँग कुरा गरिरहन्थे । उनले ‘फेक अकाउन्ट’ बनाएर आमिरसँग मात्र होइन भरतपुर महानरपालिका-१५ का ३६ वर्षीय सुमन (नाम परिवर्तन) लाई समेत ‘ब्ल्याकमेलिङ’ गरी पैसा मागेका थिए ।
उनीहरु तीनै जनालाई चितवन प्रहरीले गत बुधबार रामपुर क्याम्पस परिसरबाट पक्राउ गरेको हो । उनीहरु तीनैजना सोही क्याम्पसका विद्यार्थी समेत हुन् । मुख्य नाइके घिमिरे र रिमाल कृषि विषयमा अध्ययनरत थिए भने सिंह मेकानिकलमा ।
उनीहरुले महिलाको नाममा ‘फेक अकाउन्ट’ बनाएर पुरूषहरूलाई साथी बनाउने र भिडियो च्याटमा कुराकानीसँगै अश्लिल भिडियो तथा फोटो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
‘उनीहरूले भिडियो कल गरेर भिडियो र फोटो देखाएर पैसा माग्ने र नदिए सार्वजनिक गर्ने धम्की दिने गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो,’ एसपी कार्कीले भने, ‘पक्राउ परेकामध्ये घिमिरे मुख्य नाइके हुन् ।’
घिमिरेले पुरुषहरुसँग कुरा गर्दा केटीको आवाज बनाएर बोल्ने गर्थे । एसपी कार्की भन्छन्, ‘कुनै पुरुषहरुसँग बोल्न परे केटीको आवाज निकालेर बोल्ने काम घिमिरेले गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’
पक्राउ परेका अन्य दुईजना सोही दिनमात्र घिमिरेसँग जोडिएको खुलेको छ । त्यसअघि उनीहरुलाई समेत केही कुरा थाहा नभएको घिमिरे स्वंयम् बताउँछन् । उक्तदिन पैसा लिनको लागि रिमाल र सिंह गएका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरूले कास्कीमा पनि त्यसो गरेर पैसा असुलेको बुझिन आएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट चारवटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगद पनि बरामद भएको छ ।
०००
माथिको घटना एउटा उदाहरण मात्र हो । यस्ता ‘सेक्सटोर्सन’का घटनाहरु पछिल्ला दिन अस्वभाविक ढंगले बढिरहेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै साइबर अपराधसँग सम्बन्धित पाँच हजार घटना जाहेरीका रुपमा कार्यालयमा दर्ता भएका छन् ।
जसमध्ये १५ प्रतिशत ‘सेक्सटोर्सन’सँग सम्बन्धित छन् । त्यस्तै १८ प्रतिशत फेक प्रोफाइल, २० प्रतिशत अनलाइन ठगी र १३ प्रतिशत दुर्व्यवहारसँग सम्बन्धित छन् । प्रहरीका अनुसार कोही व्यक्तिसँग नग्न भएर भिडिओ कल गर्ने र सोही भिडिओ कल रेकर्ड गरेर ब्ल्याकेल गर्नु ‘सेक्सटोर्सन’ हो ।
चितवन प्रहरी प्रमुख एसपी कार्कीका अनुसार पछिल्लो समय ‘सेक्सटोर्सन’मा युवादेखि अधवैंशे पुरुषहरु नै हावी छन् । उनले भने, ‘यसको मुख्य उद्देश्य भनेको नै आर्थिक उपार्जन गर्नु हो ।’
‘सामाजिक सञ्जालमा साथी बनाउने, नम्बर मागने, कल गर्ने र भिडिओ कल गरेर निवस्त्र हुनेसम्मको गतिविध हुन्छन् । पछि सोही भिडिओ बनाएर दुरुपयोग हुन्छ । यसमा पछिल्लो समय युवाहरु बढिमात्र फसेको देखिन्छ,’ एसपी कार्की थप्छन् ।
