काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।
अनुसन्धान कार्यालयले अनुसन्धानको क्रममा राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका गाडीहरु यातायात व्यवस्था विभागमा भने दर्ता नभएको भेटिएका हुन् ।
ती गाडीहरुमा बागमतीकै नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारेको हो । स्रोतका अनुसार ती गाडीहरु भारतबाट नेपाल प्रवेश गराई बिलबुक समेत नक्कली बनाएर प्रयोग गरिरहेको अवस्थामा भेटिएको हो ।
उनीहरुले नक्कली बिलबूकलगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
उनीहरुले नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्ने चोरीका कार २१ लाख रुपैयाँमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडीसहित पक्राउ गरेको छ ।
प्रहरीले दिलबहादुरलाई काठमाडौं महानरपालिका-१३ कालिमाटीबाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले एनएमबि बैंकको सातौं तहको अधिकृतको छाप र यातायात व्यवस्था विभागको छापलगायत अन्य सरकारी छापहरू बरामद गरेको छ ।
उनीहरूले भारतबाट गाडीहरू चोरी गरेर नेपाल ल्याउने र त्यसलाई नक्कली ब्लुबूक बनाएर बिक्री गर्ने गरेका थिए ।
साथै कार्यालय स्रोतका अनुसार उपत्यकामा अझै दुई दर्जनभन्दा बढी चोरीका गाडीहरु हुनसक्ने अनुमान गरिएको छ । अहिले यस्ता चोरीका गाडी नियन्त्रणमा लिनका लागि कार्यालयले एक विशेष टोली नै खटाएको पनि स्रोतले जनाएको छ ।
अहिलेसम्म कार्यालयले नियन्त्रणमा लिएका गाडीहरु बागमती प्रदेश ०१–०२६ च ६५७१, बागमती प्रदेश ०१–०२३ च २६५७, बा २१ च १४६७ लगायतका नम्बर राखेर प्रयोग गरिएको गाडीहरु नियन्त्रणमा लिएको छ ।
