काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा दैलेख भैरवी गाउँपालिका-५ कागेतगडामा बसोबास गर्दै आइरहेका राउटे समुदायमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राउटे समुदायका १७ महिला र ३९ जना पुरुष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्नुका साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा (कम्बल), १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफुल समेत वितरण गरिएको थियो ।
राउटे समुदायहरुलाई संघकी अध्यक्ष कुँवरलगायत संघका अन्य पदाधिकारीहरुबाट निःशुल्क स्वास्थ्य शिविर, कम्बल बिस्कुट र फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा सेवा भावले अग्र पंक्तिमा अग्रसर भइरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानवीय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएकाले यो शिविरको आयोजना गरिएको अध्यक्ष कुँवरले बताएकी थिइन् ।

मौसम परिवर्तनसँगै जाडो मौसमको सुरुवात भइरहेको अवस्थामा राउटे समुदायको फरक जीवनशैली र पूरा शरीर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा (कम्बल) समेत वितरण गरिएको उनले बताइन् ।
त्यसैगरी स्वास्थ्य शिविरबाट सम्पूर्ण राउटे समुदायले आजको दिनबाट बिरामी हुनासाथ स्वास्थ्य जाँच गराउनुपर्ने रहेछ भन्ने कुराको चेतना वृद्धि हुने र यस समुदायका मुखियाले स्वास्थ्य प्रति सचेत रहन सबैलाई जानकारी गराउने अपेक्षा पनि यस कार्यक्रमको उद्देश्य थियो ।
कार्यक्रममा अध्यक्ष कुँवरसँगै महासचिव अनुश्री पाख्रिन, केन्द्रीय कार्य समिति सल्लाहकार निलम कडायत, सह कोषाध्यक्ष कमला खनाल, श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकाल, कर्णाली प्रहरी प्रमुख भीम ढकाल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समावेशक एसएसपी सुशील सिंह राठौरलगायतको उपस्थिति रहेको थियो ।
