झापा । प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका हुन् । चौधरीलाई अर्जुनधारा नगरपालिका-८ स्थित घरबाटै मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरी कालो झन्डा देखाउने र गाडीमा तोडफोड गरेको घटनामा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
सोमबार दिउँसो लागू औषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट पहिचान पक्षधर समूहले मुख्यमन्त्री कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए ।
