काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी स्थापना गरिएको छ ।
प्रहरी पोष्टको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमेश राज जोशीले उद्घाटन गरेका हुन् ।
स्थानीय जनताको माग र आवश्यकता बमोजिम करिब २ वर्षदेखि यस स्थानमा सुरक्षा युनिटको आवश्यकता महसुस गरी अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकले बताए ।
नेपाल प्रहरीको नियमित बजेट ५ लाख ५० हजार, लुम्बिनी प्रदेश सरकारको ५ लाख तथा स्थानीय जनसमुदायको सहयोगबाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रशासन शाखा २०८० असार २६ गतेको निर्णय अनुसार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको एसपी विकले बताए ।
‘आजको समयमा स्थानीय समुदायको सहयोग र सहकार्य अपरिहार्य छ,’ उनले भने, ‘जनतासँग हातेमालो गर्दै स्थानीय सुरक्षा संवेदनशीलतालाई मनन र विश्लेषण गर्दै शान्ति सुरक्षा प्रदान गर्नुपर्दछ ।’
यस क्षेत्रमा हुन सक्ने सवारी दुर्घटना, चोरी तस्करी नियन्त्रण, विपद्का घटना न्यूनीकरण, विभिन्न किसिमका सामाजिक अपराध न्यूनीकरण गर्न यो चौकीले महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको उनको भनाइ छ ।
प्रहरी पोष्टको उद्घाटन पश्चात बोल्दै डिआईजी जोशीले अब प्रहरीलाई आफ्नै भवनमा बस्ने अवस्था भएको बताए । उनले आफ्नै घरमा बसेर काम गर्दा प्रहरीलाई गर्वको अनुभुति हुने बताए ।
उनले प्रहरी पोष्ट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘सुरक्षा बिना विकास हुँदैन । विकास भन्दा पहिला सुरक्षा आवश्यक छ । अब प्रहरी चौकी स्थापना भएसँगै बैंक तथा वित्तीय संस्था यहाँ आउँछन्, एसईई परीक्षाका केन्द्रहरु नजिकै राख्न सकिन्छ । ’
डीआईजी जोशीले प्रहरीसँग सूचना लिने मात्र नभइ सूचना दिन पनि आग्रह गरे । उनले समाजको सहयोग बिना प्रहरी अघि बढ्न नसक्ने बताए ।
त्यस्तै कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सबैको सहमति, एकता र बलले नै अस्थायी प्रहरी पोष्ट उद्घाटन भएको बताए । उनले प्रहरी पोष्ट स्थापनाले शान्ति सुरक्षा प्रदान हुने विश्वस्त भएको बताए ।
नगरप्रमुख शमाले सबैको घरघरमा राज्यले पनि प्रहरी राख्न नसक्ने भएकाले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी पोष्टको स्थापना भएको बताए । उनले भने, ‘सडक दुर्घटना कम हुनेछ, घटना कम हुनेछन् भन्ने विश्वास लिएका छौं ।
यो सबैको सहकार्यले प्रहरीलाई मजबुत गराउने र समाजमा भएका नकारात्मक कुरालाई रोक्ने तथा समाजलाई राम्रो बनाउने कार्यमा सहकार्य गरेर अगाडि बढाउनका लागि सबैको महत्वपूर्ण भूमिका छ ।’
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले प्रहरी पोष्ट स्थापनाका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट आवश्यक सहयोग गर्ने बताए ।
उनले भने, ‘अस्थायी प्रहरी पोष्टले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’ सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्र बहादुर कार्कीले विगतमा यस क्षेत्रमा चौकीको आवश्यकता रहेको जोडदार रुपमा पटकपटक माग गरिएको बताए ।
उनले प्रहरीको उपस्थिति भनेको राज्यको उपस्थिति भएको बताए । उनले प्रहरीले जनताको मनोभावना बुझेर सहकार्य गर्नुपर्ने र जनताले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
