काठमाडौं । प्रहरीले ठगी आरोपमा २ जनालाई पक्राउ गरेको छ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई ठगी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।
रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
उनको मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले ठगी गरेका हुन् ।
