काठमाडौं । प्रहरीले अवैध हिरासहित काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भइ काठमाडौंको सुन्धारा बस्ने ४४ वर्षीय सञ्जय मैती छन् ।
सञ्जयको साथबाट प्रहरीले ३ लाख २७ हजार रुपैयाँ बढी मूल्यको अवैध हिरा फेला परेको हो । प्रहरीले उनलाई सोमबार राति काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको हो ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा अवैध हिरा फेला परेको थियो ।
हिराको बिल नभएको तथा अवैध तरिकाले भारतबाट आयात गरिएको जस्तो देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन–चाँदी व्यवसायीबाट परीक्षण गर्दा बरामद पत्थर हिरा भएको पुष्टि भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
