काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको र एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेको जानकारी दिएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा-१, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚ पुतलीबजार-५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग-६, दोलखाका राजकुमार रोका र इलाम-५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।
सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
यसअघि रुसस्थित नेपाली दूतावासले तीनजना नेपालीहरूको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो ।
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ ।
![रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु, एकजना बन्दी [नामावलीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/hamala.jpg)