काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-४ घर भई हाल तार्केश्वर नगरपालिका बस्ने ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेकी छन् ।
पक्राउ परेकी खड्काले राजु शाहीलाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने भन्दै ७ लाख ५० हजार ठगी गरेको कार्यालयले जनाएको छ ।
खड्काले मासिक १ लाख २० हजार भन्दा बढी कमाई हुने भन्दै राजुसँग ११ लाख रुपैयाँ मागेकी थिइन् । खड्काले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्कालाई सोमबार ग्राण्डी अस्पतालबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी खड्कालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
