काठमाडौं । धादिङ प्रहरीले हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । फरक–फरक २ घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनी चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् ।
त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा १५ मंसिरमा ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
‘मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थामा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भने ।
सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको एसपी मिश्रले बताए । हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली पनि पक्राउ परेका छन् ।
आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको एसपी मिश्रले बताए ।
त्यस्तै धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए ।
हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताए ।
