घटना १
गत शनिबार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरुलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गिरोहका ५ सदस्य रहेका छन् ।
पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–३ घर भएका छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भएका गोपाल थापा र सिन्धुलीको सुनकोसी–६ घर भएका सेते सार्की, सल्यानको कपुरकोट–५ घर भएका शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भएका अमृत रोक्का रहेका छन् ।
काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना २
यस्तै शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नै सामाजिक सञ्जालबाट ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरुलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको हो । यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका छन् ।
सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने उनीहरुले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी सामाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गर्ने गरेका थिए ।

घटना ३
नयाँ बसपार्क तथा कलंकीस्थित विभिन्न होटल गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने एक महिला समेत पक्राउ परेकी छन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई पक्राउ गरेको हो ।
पक्राउ परेकी सपना नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्दैै आएकी थिइन् । उनले गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको आरोप छ ।

घटना ४
त्यस्तै ब्यूरोले नै महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाई युवतीहरुलाई भारतको दिल्लीमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न एक महिलालाई पनि पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बाँकेको बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भनिने मुनाकुमारी मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनलाई गएको बिहीबार बाँकेको नेपालगन्जबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी मुनाकुमारीले सुर्खेत, दैलेखलगायत पहाडी जिल्लाबाट महिलालाई भारतमा आकर्षक रोजगारी दिलाउने भन्दै त्यहाँ लगेर बेचिएको उजुरीपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
उनले भारतको नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा दुई नेपाली ‘युवती’ लाई बेचेको समेत खुलेको छ । भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई त्यहाँ पुर्याइएर बेचिएको प्रहरीको अनुसन्धानका क्रममा पत्ता लागेको हो । उनले एकजना नाबालिकासहित दुई जनालाई बेचेको खुलेको हो ।

घटना ५
त्यस्तै इटहरी प्रहरीले एक साताअघि मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरेको छ । उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाइ छ । कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।

०००
यसरी देशैभर सञ्चालित होटलमा हुँदै आएको यौनजन्य विकृति रोक्न नेपाल प्रहरीले विशेष सक्रियता देखाएको छ । बिशेषगरी काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश होटलमा युवती राखेर अनैतिक क्रियाकलाप हुने जनगुनासो बढेसँगै प्रहरीले यौनजन्य विकृति रोक्न विशेष सक्रियता अपनाएको हो ।
प्रहरीले उपत्यकामा सञ्चालित अधिकांश होटलमा दिनहुँजसो छापा मार्दै त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्न तथा होटल सञ्चालकलाई समेत मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउन थालेको छ ।
पछिल्लो एक सातामा उपत्यकाबाटै प्रहरीले दुई दर्जन बढीलाई पक्राउ र बन्धक बनाइएको केही युवतीहरुको उद्दार समेत गरेको छ । सो कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।
काठमाडौं प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोक, काभ्रे, धरान, धनकुटा घर बताउने युवायुवतीहरु यस्तो गतिविधिमा संलग्न हुने गरेका छन् । केही महिला र केही विद्यार्थीहरु समेत यस्तो कार्यमा संलग्न रहेको बताइएको छ ।
तर, विभिन्न डर, त्रास र धम्की देखाई बन्धकमा पारी यौनजन्य क्रियाकलापमा जबरजस्त लागेका महिला तथा युवतीहरुलाई चाहिँ सम्झाईबुझाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अनैतिक क्रियाकलापमा संलग्न ती युवती तथा महिलाहरु गरिब र न्यून परिवारको रहेका छन् ।

बिशेषगरी अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले अभियान नै चलाएर यौनजन्य गतिविधि रोक्न लागिपरेका छन् । नयाँ बसपार्क, कलंकी, पुरानो बसपार्क, ठमेल, गौशाला, कोटेश्वर, चावहिललगायतका स्थानहरुमा बढी यस्तो धन्दा रहेको प्रहरी बताउँछ ।
त्यतिमात्र होइन प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले समेत यस कार्यमा संलग्नहरुलाई पक्राउ गरेको छ । युवतीहरुलाई नेपालबाट भारतसम्म पुर्याएर यौनजन्य गतिविधिमा जबरजस्त लगाउने खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ ।
०००
सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै प्रहरीले यस्तो गतिविधि रोक्न भन्दै विशेष अभियान सुरु गरेको हो ।
अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए ।
