काठमाडौं । नयाँ बसपार्क तथा कलंकीस्थित विभिन्न होटल गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने एक महिला पक्राउ परेकी छन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई पक्राउ गरेको हो ।
पक्राउ परेकी सपना नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्दैै आएको प्रहरी अनुुन्धानबाट खुलेको छ । उनले गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको आरोप छ ।
सपनालाई गत बिहीबार पक्राउ गरेको हो । त्यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको हो ।
ब्यूरोले तीन जना नाबालिकाहरूको उद्धार समेत गरेको छ । १० महिनादेखि ती नाबालिकाहरूलाई डर त्रास देखाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।
उद्धार गरिएका नाबालिकाहरूलाई सुरक्षित आवासमा राखिएको ब्यूरोले जनाएको छ । यसरी नाबालिकाहरूलाई यौन व्यवसायमा लगाउने अन्यको पनि ब्यूरोले खोजी गरिरहेको छ ।
यसअघि प्रहरीले एक जना काठमाडौंको रातोपुलस्थित स्पा सेन्टरका सञ्चालकलाई पनि पक्राउ गरेको थियो ।
