जाजरकोट । गत १७ कात्तिकमा भूकम्पले जाजरकोटको भेरी नगरपालिका(१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन । बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २ वर्षीय सुरजलाई पनि चुडेर लग्यो ।
पूर्णबहादुर र उर्मिलाका आँखा अझैँ ओभाएका छैनन् । जतिखेरै हृदय र नयनभरि छोराहरूको आकृतिमात्र नाचिरहेको हुन्छ ।
घर भत्केर त्रिपालमुनीको बास भयो । हुर्किंदै गरेका फूलजस्ता छोराहरू चुडिए । दुःख र पीडाको भारि बाहेक उनीहरूसँग केही बचेन ।
हलोखेती र मेलापात गर्दै जीवन धानिरहेका उनीहरू गत बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग भक्कानो छोडेर गहभरिका बह पोखिरहेका थिए ।
‘भूकम्पले हाम्रो त सबै खुसी लुट्यो । मर्न पनि नसकिँदो रहेछ। बाँच्न पनि गाह्रो हुँदो रहेछ । अब हामी को भनेर बाच्ने ? कस्को मुख हेर्ने ?,’ रावत दम्पती यस्तै यस्तै पीडा पोख्दै रोइरहेका थिए ।
उनीहरूका दुःखले महरका आँखा पनि रसाएका थिए । गह भरिएको थियो । महर यतिबेला तीनै भूकम्पपीडितका चहराइ रहेका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटमा खटिएका छन् ।
बिहीबार महरसहितको टोलीले रावत दम्पत्तिका साथै उक्त टोलमा अन्य केही टहरा निर्माण गरेको छ । रावत टोलमा मात्रै भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन् । महर एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन् ।
जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले काँपिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान गरे । बिहीबार दिनभर उनी विद्यार्थीहरूमाझ मै रहे ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग रहेर न्यानो लुगामात्र वितरण गरेनन्, विद्यार्थीहरूलाई शिक्षामा केन्द्रित हुन मनोपरामर्श पनि प्रदान गरे ।
दैविक विपत्ति अकल्पनीय हुने भएकाले त्यससँग जुध्दै सम्हालिनुको विकल्प नभएको महरको भनाइ थियो ।
कांग्रेसको केन्द्रीय नीति अनुरूप उनी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निर्माण खटेका हुन् । त्यहाँ रहँदा उनले घरटहरा निर्माण कार्यलाई तीव्रता दिने छन् ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार कांग्रेसले टहरा निर्माण कार्य तीव्रता दिएको छ ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ ।
जाजरकोट पुगेका महरले भूकम्पपीडितको अवस्थाले आफूलाई निकै चिन्तित तुल्याएको बताएका छन् ।
‘जाजरकोट भूकम्पपीडितको अवस्था काकाकुल रहेको छ । सरकारले भूकम्पपीडितलाई राहत प्रदान गर्न एकद्वार प्रणालीको विकास गर्नुपर्थ्यो । त्यो हुन नसकेको पाइयो । सरकारकै नेतृत्वमा एकमुष्ट राहत प्रदान गरिएको भए पीडितलाई सहज हुन्थ्यो । कनिकाछराइ गर्दा धेरैलाई जसलिने बाटोमात्र हुन्छ,’ उनी भन्छन् ।
एक हजार ७६ जना गर्भवती महिला चिसो त्रिपालमुनि कहरपूर्ण रात काट्न बाध्यछन् । थुप्रै वृद्धवृद्धा र बालबालिकाले चिसोकै कारण ज्यान गुमाइसके । महरलाई राज्यका लागि यो अवस्था लज्जाको विषय भएझैँ लाग्छ ।
‘विपतमा मुलुकको सारा शक्ति एकजुट हुनुपर्थ्यो । राज्य जनताको उद्धारमा खटिनुपर्थ्यो । अपेक्षित रूपमा त्यो हुन सकेन,’ उनले भने । सरकारको कमजोर उपस्थितिका कारण आफूहरू जनताको माझमा खटिनु परेको उनले बताए ।
‘हामीले सरकारलाई दबाब दिएरमात्र पुगेन । जनताको दुःख हेर्न सक्ने मुटु हामीसँग छैन । म सधैँ जताको माझमा रहन चाहने व्यक्ति हुँ । जनताकै लागि राजनीति गर्न आएको व्यक्ति भएकाले केही चिसा रात जनताकै माझमा रहेर उनीहरूकै त्रिपालभित्र बसेर दुःखमा साथ दिन्छु’, महरले भने ।
त्यसैले त महर जनताको माझमा रहेर बेल्चा चलाइरहेका छन् । जस्तापातामा किला ठोकिरहेका छन् । दुखेका जनताका मनमा मलम लगाउन खोजिरहेका छन् ।
उनले एक साता भूकम्प प्रभावित क्षेत्रमा रहने र त्यसपछि दोस्रो चरणमा पनि आफू खटिने बताएका छन् ।
महरसँगै कांग्रेस नेताहरू राजिवविक्रम शाह, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, नेविसंघ केन्द्रीय अध्यक्ष दुजांग शेर्पा, नेविसंघ नेता खडग विसीलगायत सक्रिय छन् ।
