काठमाडौं । प्रहरीले महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतको दिल्लीमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बाँकेको बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भनिने मुनाकुमारी मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई गएको बिहीबार बाँकेको नेपालगन्जबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी मुनाकुमारीले सुर्खेत, दैलेखलगायत पहाडी जिल्लाबाट महिलालाई भारतमा आकर्षक रोजगारी दिलाउने भन्दै त्यहाँ लगेर बेचिएको उजुरीपछि प्रहरी टोली खटिएको थियो ।
उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनले आर्थिक अवस्था कमजोर भएका र कम पढेलेखेका एकल महिलालाई ‘टार्गेट’ बनाउने गरेको एसएसपी श्रेष्ठले बताए ।
त्यस्तै भारतको नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा दुई नेपाली ‘युवती’ बेचबिखनमा परेको खुलासा भएको छ । पक्राउ परेकी मुनाकुमारीको बयानपछि उक्त कुरा खुलासा भएको हो ।
भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई त्यहाँ पुर्याइएर बेचिएको प्रहरीको अनुसन्धानका क्रममा पत्ता लागेको हो । उनले एकजना नाबालिकासहित दुई जनालाई बेचेको खुलेको हो ।
त्यस्तै अन्य महिलाहरुलाई दिल्लीबाट अन्यत्र स्थानमा समेत यौन गतिविधिका निम्ति पठाउने गरिएको पाइएको छ । पीडित भागेर हिँड्दा समेत पिछा गरेर समाती पुनः सोही गतिविधिमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
