काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन अष्ट्रिया गएको हुँदा मुलुक बाहिर छन् । भोलि अर्थात १६ गते आईजीपी कुँवर स्वदेश फर्कनेछन् ।
आईजीपी कुँवर स्वदेश फर्कने भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) मा बढुवा तयारी गर्नेछ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापनसमेत भइसकेपछि अब प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपी बढुवाको बाटो खुलेको हो ।
डिएसपीबाट एसपी बढुवाको लागि बाटो खुले पनि आईजीपी कुँवर स्वदेश फर्केपछि मात्र बढुवा सिफारिस हुने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एसपी बढुवाका लागि २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डिएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् ।
बढुवा समितिले आईजीपी कुँवर स्वदेश आएपछि गृह मन्त्रालयको सहमतिमा डिएसपीबाट एसपी बढुवाको सिफारिस गर्नेछ । सुरुमा २ एसपीको पद रिक्त थियो । तर, केही दिनअघिमात्रै ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन् ।
त्यस्तै आजदेखि एसएसपी मोहन प्रसाद पोखरेलले अवकाश पाएका छन् । उमेरहदका कारण पोखरेलले अवकाश पाएसँगै प्रहरीमा एकजना एसपी एसएसपीमा बढुवा हुनेछन् भने यता ८ एसपी पद रिक्त हुन आउनेछ ।
रिक्त एसपी पदमा बढुवा हुन दर्जनौं डिएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । जसअनुसार अघिल्लो बढुवामा छुटेका र यसपटक बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन् ।
त्यसैगरी दोस्रो नम्बरमा ढकेन्द्र खतिवडा, निरन्जनदत्त भट्ट, सन्तोष तामाङ, ठाकुरप्रसाद पोखरेल, अनिलकुमार खड्का, सुमित खड्का, विनोद घिमिरे र कुलदिप चन्द रहेका छन् ।
यी माथिका आठजना २०६१ सालमा इन्स्पेक्टरबाट प्रवेश गरी २०७२ सालमा डिएसपीमा बढुवा भएकाहरु हुन् । अहिले प्रतिस्पर्धामा ३७ जना छन् । जसमा यी ८ जनासँगै त्यसैगरी आन्तरिकबाट बढुवा हुँदै २०७२ सालमै डिएसपी भएकाहरु बाँकी २९ जना छन् ।
आन्तरिकमा बढुवा भएकाहरु छिट्टै अवकाशमा जाने हुन् भने २०६१ वालाहरु एसपीभन्दा माथि जाने लाइनका हुन् । एसपीमा सम्भावना भएकाहरुमा अंगुर जिसी, श्यामबाबु ओलीया, नारायण रन्जितकार, राजन लिम्बू, एकनारायण कोइराला, अनन्तराम शर्मा पनि हुन् ।
तर, ३७ जनामध्ये कतिले सिमित कारबाही भोगेका छन् भने कोही घोटालामा पनि परेका छन् । त्यस्ता अधिकृतहरु बढुवामा पर्नको लागि शक्तिकेन्द्र धाइरहेपनि आईजीपी कुँवर बाधक बन्नेछन् ।
यस्तो छ प्रतिस्पर्धीहरुको सूची

