करिब ८० हजारको प्रहरी संगठनमा सबै राम्रा र असल हुन्छन् भन्ने पनि छैन । त्यहि संगठनभित्र बाटै कसैले संगठन र देशको इज्जत राख्ने काम गर्छन् भने कसैले संगठनलाई बदनाम बनाउँछन् ।
तर, पछिल्लो समय नेपाल प्रहरीका केही प्रहरी अधिकृतहरुको ‘सेटिङ’ मा तस्करी मौलाएको आरोप छ । तराई जिल्लाका विभिन्न नाकाहरुबाट बिना भन्सार सामान भित्रिनेदेखि प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेको पाइएको हो ।
प्रहरीले बेला बेला तस्करीको सामान बरामद पनि गरेको छ । कस्तो अवस्थामा बरामद गरेको छ, सबैले थाहा पाउन आवश्यक छ । कुनै जिल्लाको दर्जनभन्दा बढी चेकपोष्ट पार गर्दै अर्को जिल्लाको प्रहरीले सामान बरामद गर्ने गरेको अवस्था छ ।
यहिँबाट प्रष्ट हुन्छ कि मासिक असुली’ गरेर तस्करीको सामान कटाउने कार्यमा प्रहरी हाकिमको मिलेमतो छ । त्यसैले तराईका केही जिल्लाका प्रमुखहरु काममा भन्दा बढी कमाउनतिर लागेको पाइएको हो ।
प्रहरीले त्यस्ता दुई नम्बरीको सामान नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट दिने गरेको गुनासोसँगै प्रहरी प्रधान कार्यालयले विशेष टोली परिचालन गरेर निगरानी बढाएको छ ।
पछिल्लो समय रूपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विकले घुमुवा प्रहरीमार्फत सेटिङ मिलाएको आरोप छ । त्यस्तै पश्चिम नवलपरासीका एसपी काजीकुमार आचार्यले पनि सोही कामलाई निरन्तरता दिएका छन् ।
यता, मधेस प्रदेशको पर्सा जिल्लामा तस्करी सबैभन्दा बढी मौलाएको छ । पर्सा प्रहरी प्रमुख एसपी कोमल शाह पनि पैसा कमाउनतिर व्यस्त रहेको व्यवसायीहरु बताउँछन् ।
उनले पनि नाकाहरु खुलाएर तस्करीको सामान कटाउन थालेको बताइन्छ । यसरी खुलेआम रुपमा प्रहरीकै मिलेमतोमा तस्करी हुन थालेपछि पछिल्लो समय चिन्ता बढ्दो छ ।
मधेस प्रदेशमा मात्र नभएर कोशी प्रदेशको पनि हालत उस्तै छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोला निरिह बन्दा सुनसरी, धरान, झापालगायतका जिल्लाहरुबाट व्यापक मात्रामा तस्करी हुने गरेको गुनासो छ ।
यसरी जिल्लाका एसपीहरुकै मिलेमतोमा तस्करी हुन थालेपछि आलोचना खेप्न बाध्य छन् प्रदेशका हाकिमहरु ।
