काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज फैसला आउने सम्भावना छ । प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश विरूद्ध परेका निवेदनमा आदेश आउने हो ।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।
थुनामा रहेका बालकृष्ण खाण र टोपबहादुर रायमाझिसहित १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन् ।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । जसमा १० जना फरार छन् ।
