काठमाडौं । कैलाली प्रहरीले कुटपिटबाट युवकको मृत्यु भएको घटनामा १४ जनालाई पक्राउ गरेर सार्वजनिक भएको छ । गएराति कुटपिटबाट घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन् ।
त्यस्तै सोही नगरपालिकाका-२८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
मृतक अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए । त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए ।
कैलाली प्रहरीका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले उनीमाथि कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो । त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखिएको छ ।
